आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

ट्रम्प र बाइडनलाई जितका लागि अझै के चाहिन्छ ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा परम्परागत रूपमा नै मतपरिणामको रात भनिने गरिएको समयावधि अब लम्बिएर मतपरिणामको सप्ताह होला जस्तो देखिएको छ । चुनावमा निर्णायक विजय हासिल गर्नका लागि उम्मेदवारहरूको हकमा के के हुनुपर्छ त अब ?

मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडनको सहज जित हुने आकलन देखि लिएर झिनो मतान्तरले डोनल्ड ट्रम्पको विजय हुनेसम्मका प्रक्षेपणहरू थिए । तिनमा डोनाल्ड ट्रम्पले कुल राष्ट्रव्यापी बहुमत हासिल गर्नुको साटो इलेक्टरल कलेजको ठूलो मतसङ्ख्याका कारण विशेष महत्त्व पाएका सङ्ग्रामस्थल निर्वाचन क्षेत्र भनिएका राज्यहरूमा जित हासिल गरेर आफ्नो पुन:नियुक्ति गर्न सक्ने कुराहरू पनि थिए ।

रातभरिमा पनि नसकिएर लम्बिन पुगेको मतगणनाको समयावधिपछि जो बाइडनले ल्यान्डस्लाइड अर्थात् अत्यधिक बहुमतले जित हासिल गर्न सक्ने भन्ने अनुमानको ठाउँ अब बाँकी रहेन । अब जसले जिते पनि त्यो झिनो मतान्तरले अन्तिम निर्णय हुने अवस्था देखिएको छ । अनि त्यो अब कससको पक्षमा कसरी र कति समयपछि हुन्छ भन्ने कुरा महत्वपूर्ण बनेर आएको छ ।

अमेरिका निर्वाचन
डोनल्ड ट्रम्पले आफ्नो जित भएको भनेर पहिले नै दाबी गरिसकेका छन् र उनले विपक्षीहरूलाई निर्वाचनमा धाँधली गरेको आरोप पनि लगाइसकेका छन् । तर अहिलेसम्मको अवस्था हेर्दा निर्वाचनमा धाँधली भएको भनेर पुष्टि भएको अवस्था देखिएको छैन । अझै पनि विधिसम्मत तरिकाले मतदान गरिएका मतपत्रहरूको गणना हुने क्रम जारी नै रहेको छ । अब मतपरिणामको प्रतिस्पर्धा केही थोरै राज्यको हकमा मात्रै बाँकी छ ।

'ब्याटलग्राउन्ड स्टेट्स' भनिने राज्यमा कसको जित होला  ?
एरिजोना बाइडनको पक्षतर्फ अघि बढ्दै गरेको हो की जस्तो देखिएको छ । त्यसको अर्थ डेमोक्र्याटहरूले विस्कन्सिन,मिशिगन र पेन्सिल्भेनिया जस्ता राज्यमा जिते मात्रै उनीहरूको विजय सुनिश्चित हुनसक्छ । ती तीनै राज्यमा बाइडनले ट्रम्पलाई पछ्याइरहेका छन् । तर अब गन्न बाँकी रहेका मतहरू डेमोक्र्याटहरूको पक्षमा हुनसक्छन् जुन उनलाई अगाडि पुर्‍याउन पर्याप्त हुन पनि सक्छ ।

पेन्सिल्भेनियामा मात्रै हुलाकबाट मतदान गरिएका झन्डै १४ लाख मत गन्न बाँकी रहेको छ । ती सबैलाई सूचीकृत गर्न नै कैयौँ दिनको समय लाग्न सक्छ । मिशिगनमा डेट्रोइट र विस्कन्सिनमा मिल्वाकीजस्ता ठूला सहरको पनि पूर्ण मतगणना परिणाम आउन बाँकी छ जुन डेमोक्र्याटहरूको पक्षमा ढल्किन सक्छन् ।

जोर्जियाको परिणाम जता पनि जान सक्ने खालको देखिएको छ । मङ्गलवार पहिले त्यहाँ ट्रम्पको जित हुने जस्तो देखिएको थियो जुन अवस्थामा एकाएक परिवर्तन भएको छ । जोर्जियामा बाइडनले जिते भने उनले मिडवेस्ट भनिएका एउटा मात्र राज्यमा जिते पुग्छ ।

कानुनी चुनौतीको सम्भावना कति ?
बाइडनले आफू जितको बाटोमा रहेको दाबी गर्ने र ट्रम्प पक्षकाहरूले अपुष्ट नै भएपनि निर्वाचनमा धाँधली भएको र 'विपक्षीले निर्वाचन चोरेको' भनेर आरोप लगाउन सुरु गरेकाले यो निर्वाचनमा पहिले दु:स्वप्नको अवस्था भनेर अनुमान गरिएको परिदृश्यले अब साकार रूपमा लेला जस्तो देखिएको छ ।

त्यस्तो दाबी र आरोपप्रत्यारोप हुनु भनेको तिक्ततापूर्ण अवस्थाको सिर्जना हुन गई लामो अदालती चुनौतीको परिदृश्य तयार हुनु हो । जुन प्रक्रियाको अन्त्य हार्ने पक्षका समर्थकहरूले आक्रोश र ठगिएको अनुभव गरेर हुन्छ । अन्तिम मतगणना परिणाम अहिले थाहा नभएको भएतापनि मतपरिणामको रात देखिएका गतिविधिले संयुक्त राज्य अमेरिका स्पष्ट रूपमा विभाजित देशका रूपमा कायम नै रहेको देखिएको छ ।

अमेरिकी मतदाताले डोनल्ड ट्रम्पलाई कुनै अर्थपूर्ण ढङ्गले स्पष्ट रूपमा अस्वीकृत गरेनन् । न त तिनीहरूले उनलाई उनले चाहे जस्तो सहज र सोझो समर्थन नै दिएका छन् । बरु अब त्यहाँ युद्धका रेखाहरू कोरिन पुगेका छन् । अनि यो निर्वाचनमा जो सफल भएपनि राजनीतिक सङ्ग्राम भने जारी नै रहने देखिएको छ । (बीबीसी)