आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

पेरिसडाँडाबाट छुट्टीएर माधव नेपाल बानेश्वरको अर्याल होटलमा बास बस्नुभएको भन्ने सुनेको छुः ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहमाथि व्यंग गरेका छन् । अखिल नेपाल महिला संघको कार्यकर्ता भेलामा ओलीले बाटो बिराएका नेताहरूलाई सच्चिएर आउन आग्रह गरेका छन् । 

उनले माधव नेपाल समूहले ‘केपी ओलीलाई ठेगान लाउन आउँछौं’ भनेको सुनेको भन्दै आफूले त्यो कुरा ‘खुट्टा देख्दै पत्याएको’ र त्यसो गरे ‘बाटैमा खुट्टामा ठेस लाग्ने’ बताए । उनले समय छँदै मेहनत, पसिना, बल, बुद्धि खर्च गर्न आग्रह गरे । 

माधव नेपाल पेरिसडाँडा (माओवादीको पार्टी कार्यालय) बाट बानेश्वरको अर्याल होटलसम्म आएर बास बस्नुभएको छ रे भन्ने सुनेको छु । उहाँलाई बालुवाटारसम्म आइपुग्न पर्याप्त समय पुगोस् भनेर चैत ७ गते बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएको छु ।

निरन्तर अनुपस्थित हुनुभयो भने विधान बमोजिम हुनेछ ।

‘आउनुभएन निरन्तर अनुपस्थित हुनुभयो भने विधान बमोजिम हुनेछ,’ उनले भने, ‘आउनुभयो भने त्यसपछि छलफल गरेर अघि बढौंला ।’ 

उनले आफूले कसैको पद नखोसेको र पार्टी सञ्चालन गर्दै गर्नका लागि अन्तरिम व्यवस्था गरेको बताए । 

‘मैंले अरूले जस्तो उहाँहरूको पद खोसेको छैन,’ ओलीले भने, ‘उहाँहरू कता–कता हुनुहुन्छ । पार्टी त सञ्चालन गर्दै गर्नुपर्‍यो नि !’

सर्वोच्च अदालतले गत साता नेपाल कम्युनिष्ट पार्टी (ने क पा) पार्टीको नाम अर्को दलसँग मिलेको एकीकरण प्रक्रियामा नै प्रश्न गर्दै पुनः एकीकरण प्रक्रिया शुरु गर्न वा दुई कम्युनिष्ट पार्टी पुरानै दलका रूपमा रहन सक्ने फैसला सुनाएको थियो । 

उक्त फैसलापछि माधव नेपाल समूहले एकीकृत नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को अन्तिम स्थायी समिति बैठक भन्दै पेरिस डाँडाबाट बाहिरिएर एमालेमै रहेर ओलीको अधिनायकवाद विरुद्ध संघर्ष गर्ने भन्दै एमालेमै फर्कने निर्णय गरेका थिए । 

तर ओलीले शुक्रबार नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाएर पूर्व माओवादीबाट आएका रामबहादुर थापा, लेखराज भट्ट लगायत र आफू निकटका सुवास नेम्वाङ लगायतका नेताहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएका छन् । उनले वरिष्ठ नेता माधव कुमार नेपालको विदेश विभाग प्रमुखको पद खोसेर आफ्ना सल्लाहकार राजन भट्टराईलाई नियुक्त गरेका छन् । 

त्यसलगत्तै नेपाल समूहले आज ओलीको ‘तानाशाही प्रवृत्ति विरुद्ध संघर्ष गर्ने’ भन्दै एमालेभित्र समानान्तर कमिटीहरू घोषणा गरेको छ ।