बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

पुराना ढड्डा खोज्दै एमाले र माओवादी केन्द्र

किराँती नाम र चिन्ह फेर्न सजिलै राजी

काठमाडौं : एमाले र माओवादी केन्द्र दुवै एकीकरणपूर्व पार्टीको ‘डकुमेन्ट माग्‍न' निर्वाचन आयोग धाइरहेका छन् । दुवैले एकीकरणपूर्व आयोगका दर्ता गराएका विधान, पदाधिकारी तथा सदस्य नामावली संकलन गर्दैछन् । एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकता गर्दै त्यसैको जेठ २३ मा निर्वाचन आयोगद्वारा नेकपा अभिलेखीकरण गराएका थिए ।

सर्वाेच्च अदालतले ‘नेकपा’ नाम ऋषि कट्टेलकै भएको ठहर्‍याउने क्रममा एमाले र माओवादी केन्द्रलाई ‘साविक’कै अवस्थामा पुर्‍याएपछि दुवै दल ‘डकुमेन्ट’ खोज्‍न आयोग पुगेका हुन् । ‘दुवै दलले पुराना ढड्डा पल्टाउँदै आफ्‍नो रेकर्ड बुझ्‍दैछन्’ प्रमुख आयुक्त दिनेशकुमार थपलियाले इकागजसँग भने, ‘त्यो काम शाखाबाट हुन्छ, म कहाँ आइपुग्नु पर्दैन ।’

किराँती पनि आयोगमा
एकीकरणपछि माओवादी केन्द्रलाई आफ्‍नो नाम दर्ता गराएका गोपाल किराँती पनि आइतबार निर्वाचन आयोग पुगे । कुनै मुद्दा-मामिला नगई सजिलै नाम र चिन्ह परिवर्तन गर्न किराँती राजी भएको आयोगले जनाएको छ ।

आयोगका पदाधिकारीहरुसँग छलफल गर्न किराँतीसहित तीन नेताहरु गएका थिए । प्रमुख आयुक्त थपलियाले समयभित्रै नयाँ दल दर्ता गर्ने जनाउँदै किराँतीको टोली फर्किएको जानकारी दिए ।

थपलियाका अनुुसार, आयोगमा दर्ता भएका पार्टीको सूची र आयोगसँग सुरक्षित चुनाव चिन्हहरु लगेका छन् । आयोगले चुनावी प्रयोजन निम्ति चुनाव चिन्ह्–बैंक बनाएको हुन्छ, त्यसैबाट चिन्ह रोज्‍नुपर्ने हुन्छ । आयोगले किराँतीबाट नाम र चिन्ह खोस्दा झमेला खेप्नुपर्ने आशंका गरेको थियो । त्यसअतिरिक्त मुद्दा-मामिलाको लफडा खेप्‍नुपर्छ कि भन्‍ने ठानेको थियो ।

‘उहाँहरुले आयोगसँग कुनै रीस-राग देखाउनुभएन । अदालती आदेश कार्यान्वयनकै रुपमा मात्र लिनुभयो’ थपलियाले भने, ‘उहाँहरुले यति चाहिँ भन्नुभयो कि फेरि कहिल्यै यस्तो नहोस् । कसैसँग नाम जुध्‍न नदिन दर्ता पार्टी र चुनाव चिन्ह दिनोस् भन्ने माग राख्नुभएको थियो ।’ 

किराँतीले १५ दिनभित्रै नाम दर्ता गराउने जानकारी पनि आयोगलाई दिएका छन् । उनीहरुले पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने र पछाडि कुनै ‘फुर्काे’ जोडिन सक्ने जानकारी दिएका छन् ।