घोषित चिनियाँ खोप किन आएन ?

काठमाडौँ : चीनले अनुदानमा उपलब्ध गराउने भनिएको कोभिड-१९ विरुद्धको खोप अझै नेपाल आइपुगेको छैन । चीन सरकारको आनाकानीले हो या नेपाल सरकारको बेवास्ताले ढिलाई भएको हो अझै स्पष्ट हुन सकेको छैन । नेपाल सरकारले चीनलाई र चीन सरकारले नेपाललाई अनौपचारिक रूपमा दोषारोपण गरिरहेको भए पनि खोप अझै आउन सकेको छैन् ।
नेपाल सरकारले कोरोना भाइरसविरूद्धको चाइनिज खोप ‘भेरो सेल’लाई प्रयोगका लागि अनुमति दिएलगत्तै चीनले उक्त खोप नेपाल पठाउने बताएको थियो । तर अझै पनि चीनले उक्त खोप नेपाल पठाउन सकेको छैन । चीनको कम्पनी सिनोफार्मले तयार गरेको उक्त खोप चीनले अनुदान उपलब्ध गराउने कार्य नै तीन किस्तामा घोषणा गरेको थियो ।
चीनले सुरुमा तीन लाख डोज खोप उपलब्ध गराउने भनेको थियो भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन वार्तापछि त्यो अनुदान ५ लाख पुगेको थियो । त्यो घोषणा हुँदासम्म दक्षिण छिमेकी भारतबाट १० लाख डोज खोप ल्याएर नेपालमा खोप लगाउने कार्य सुरु भएको थियो ।
अक्सफोर्ड आष्ट्राजेनेकाले विकाश गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप गत ८ माघमा भारतले १० लाख डोज नेपाललाई अनुदानस्वरूप दिएको थियो । पहिलो चरणमा ‘फ्रन्टलाइनर’ स्वास्थ्यकर्मीहरूलाई दिइएको उक्त खोप दोश्रो चरणमा पत्रकार र कुटनीतिज्ञहरूलाई दिइएको छ ।
त्यसलगत्तै चीनको खोपलाई नेपालको औषधि व्यवस्था विभागले अनुमति दिएपछि बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको यो खोपको विषयमा चर्चा सुरु भएको हो । सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको चीनको दाबी छ ।
चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिइसकेको छ । हालसम्म ३ करोड बढीलाई दिइसकेको जनाइएको छ । तर नेपालमा अझै उक्त खोप किन आएन ? भन्ने प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भने, ‘नियमित उडान छैन । नेपालले खोप लिन आफ्नो उडान पठाउन सकेको छैन । उताबाट पनि उडान नहुनाले पनि ढिलाई भएको हो ।’
नेपालले अनुदानमा उपलब्ध खोप दाताले नेपाल पठाउने गरेका छन् । त्यसमा जहाज वा ढुवानी खर्च बेहोर्नु परेको छैन । मन्त्री त्रिपाठीले नेपालमा खोप अभियान चलिरहेको र सहयोगस्वरुप आउने खोप ल्याउने क्रममा रहेको बताए ।
चीनले आठ लाख डोज खोप दिने बताइसकेकाले त्यो खोप आउने चरणमा रहेको बताए । चीनले आफ्नो खोपको प्रभावकारिता ७९ दशमलव ३४ प्रतिशत रहेको दावी गर्दै आएको छ । चीनले उक्त खोप यूएई, इजिप्ट, हंगेरी र पाकिस्तानलगायत मुलुकमा सप्लाई गरिरहेको छ ।
खोप निजी कम्पनीले तयार गरेको भएपनि याे राजनीतिक कमोडिटीज भइसकेकोले विश्व यतिबेला खोप कूटनीतिमा परेको छ । यो कूटनीतिक प्रतिशपर्धा निकै चर्को छ। नेपाल जस्तो मुलुक यसमा झन बढी समस्यामा परेको परराष्ट्र अधिकारीले बताए ।

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

प्रतिक्रिया