बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

नेकपा माओवादी केन्द्रको नाम फेर्न प्रस्ताव

काठमाडौँ  : आज आइतबारबाट सुरु नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा पार्टीको नाम नै फेर्न प्रस्ताव गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नाम तथा एकताको विषयमा एजेण्डा प्रस्तुत गरेपछि केन्द्रीय सदस्यहरुले यस्तो प्रस्ताव गरेका हुन् ।  

 सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपा अस्वीकार गरेसँगै ब्युँतिएको माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठकमै पार्टीको नाम फेर्ने बारे छलफल भएको हो ।  ‘अध्यक्षज्यूले एजेण्डा प्रस्तुत गर्नु भयो,’ माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने, ‘नाम फेर्ने विषयमा पार्टीभित्र छलफल चाहिँ प्रवेश भयो ।’ 

आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा वर्तमान राजनीतिक स्थितिबारेमा केन्द्रीय कार्यालयबाट, प्रदेश इन्चार्जहरुको तर्फबाट प्रतिवेदन पेश गर्ने तयारी छ । त्यस्तै पार्टीको संगठानात्मक कामबारे विधान र पार्टी अनुशासनको विषयमा पनि छलफल हुनेछ । 

बैठकमा वर्तमान राजनीतिक स्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जहरुले धारणा राख्ने पनि एजेण्डामा उल्लेख छ । संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासनसम्बन्धी विषय पनि एजेण्डामा छ । यो बैठकले कार्यकर्ता भेलाबारे पनि निर्णय गर्ने भएको छ । सोमबारका लागि तय भएको राष्ट्रिय भेला स्थगित गरिएको छ ।