कोभिड-१९ : उपत्यका पहिला सुरक्षित, अहिले महा असुरक्षित !

काठमाडौँ : काभ्रे, काँसकोटेकी रचना श्रेष्ठ नेपालमा पहिलो कोभिड–१९ संक्रमित देखिदा काठमाडौँमै थिइन् । बाहिरी जिल्लामा कोभिड संक्रमितको संख्या विस्तारै बढ्दै थियो । उपत्यकामा भने खासै संक्रमित देखिएका थिएनन् । उनी ढुक्क थिइन् । गाउँमा भएका आमाबुबालाई समेत उनले त्यो बेला भनेकी थिइन्, ‘यतै आउनु, यहाँ सुरक्षित छ । केही गरी कोभिड लागिहाल्यो भने उपचार गर्ने अस्पताल पनि टन्नै छन् ।’ ‘मरे बरु गाँउमै मर्छौँ तर, आउँदैनौँ’ उनका आमाबुबाले भनेका थिए ।
त्यो बेला आमाबुबालाई उपत्यका बोलाउन उनले निकै जोड गरेकी थिइन् । उपत्यकामा संक्रमितको संख्या विस्तारै उकालो लाग्दै गएपछि भने उल्टै उनलाई परिवारले गाउँ बोलायो । रचना पनि कोभिडबाट बच्न गाउँ गइन् । गाउँ गएको दुई तीन महिना बितिसक्यो । तर, अझै उनको शहर फर्किने छाँटकाँट छैन । ‘त्यहाँ कोरोना बढेको बढ्यै छ,’ टेलिफोन कुराकानीमा उनले भनिन्, ‘त्यहाँ अलि मत्थर नभएसम्म फर्किन्नँ । यहाँ घरबाट निस्किँदा पनि मास्क लगाउनुपर्दैन । त्यहाँ डरले घरभित्रै मास्क लगाएर बस्नुपर्छ । खै के फर्किनु त्यस्तो ठाउँमा ?’
लकडाउनअघि उपत्यका कोभिड-१९ बाट तुलनात्मक रुपमा सुरक्षित थियो । सुरुको चरणमा भारतको सिमाना जोडिएका जिल्लाहरु जोखिममा थिए । सिमानासँग जोडिएका केही जिल्लाहरुमा कर्फ्यूसमेत लागेको थियो । तर, उपत्यकामा भने कोभिड संक्रमण फाट्टफुट्ट मात्र देखिएको थियो । त्यही बेला उपत्यका सुरक्षित ठान्दै थुप्रै मानिसहरु भित्रिए । कोभिड छल्न उपत्यका आउने उनीहरुलाई न लकडाउनले छेक्यो न निषेधाज्ञाले रोक्यो । ‘त्यो बेलामा अन्तरजिल्लाबाट आएकालाई काठमाडौँमा मजाले छिराइयो,’ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भने, ‘क्वारेन्टाइनमा राखिने भने पनि ती कुराहरु मुखले भनियो, व्यवहारमा लागू गरिएन । अनुगमन पनि भएन ।’
लकडाउन खुलेपछि काठमाडौँ खुला भयो । बिहान कमाएर बेलुका छाक टार्नेदेखि जागिरे, व्यापारी सबै फेरि काठमाडौँमै थुप्रिए । ‘त्यो बेला घरबेटीले बस्न दिएनन्, पीसीआर परीक्षण गदिदिनुपर्यो’ भन्दै धेरै मानिसहरु आएका थिए,’ डा पुनले भने, ‘तर, नेपाल सरकारको परीक्षण निर्देशिका (टेस्टिङ गाइडलाइन) ले लक्षण नभएकालाई टेस्ट नगर्नू भन्यो । त्यहींबाट सबै कुरा बिग्रियो ।’
जनस्वास्थ्यको मापदण्ड अनुसरण नगर्नु, क्वारेन्टाइनको उचित व्यवस्था नहुनु, मानिसको चाप धेरै हुनु र पीसीआर परीक्षण कम हुनु डा. पुनलाई उपत्यका कोभिड उच्च जोखिममा पर्नुको कारण हो भन्ने लाग्छ । ‘यिनै कारणले पहिला कोरोनाबाट लुक्न आउने उपत्यका अहिले यहाँबाट जतिसक्दो भाग्नुपर्ने अवस्थासम्म पुगेको छ,’ उनी भन्छन् ।
उपत्यकामा सक्रिय कोभिड संक्रमित १८ हजार ८ सय ८, मृत्यु हुनेको संख्या ३ सय ८८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा सक्रिय कोभिड संक्रमितको संख्या ३६ हजार ५ सय १४ पुगेको छ । देशभर कोभिडबाट मृत्यु हुनेको संख्या १ हजार ५२ जना पुगेको छ ।
अहिलेसम्म उपत्यकामा मात्रै १९ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये, काठमाडौँमा १६ हजार ३ सय ३१, भक्तपुरमा १ हजार २ सय ४८ र ललितपुरमा २ हजार २ सय ७६ जना संक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै उपत्यकामा ३ सय ९३ जनाले कोभिडको कारणले ज्यान गुमाइसकेका छन् । जसमध्ये, काठमाडौंमा २ सय ५९, ललितपुर ६५ र भक्तपुरमा ६९ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । बिहीबार मात्रै नेपालमा ३ हजार ५१ जनामा नयाँ कोभिड संक्रमित थपिएका छन् । जसमा उपत्यकामा मात्रै एक हजार ३ सय ९८ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।
जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले पीसीआर परीक्षणले व्यापकता नपाएका कारण उपत्यकामा कोभिडका कारण भागाभागको अवस्था आएको बताउँछन् । ‘देशको सबैभन्दा बढी जनसंख्या ओगटेको ठाँउ काठमाडौं हो,’ उनी भन्छन्, ‘देशकै धेरै जनसंख्या ओगटेको सहरमा पीसीआर परीक्षणको दायरा कम भयो । मुख्य कुरा हामी परीक्षणमा चुक्यौँ ।’
जुन बेला सरकारले लकडाउन गर्यो त्यो बेला लकडाउन गर्नुपर्ने अवस्था नै नभएको उनी बताउँछन् । ‘मास्क लगाउने, दूरी कायम गर्ने, परीक्षणलाई व्यापकता दिने गरिएको भए घर-घरभित्र संक्रमण छिर्दैनथ्यो,’ उनी भन्छन्, ‘लकडाउन गरेपछि संक्रमण नियन्त्रणमा हुन्छ भन्ने थियो तर, उल्टो भयो । लकडाउन हुनुभन्दा अगाडि नै समाजमा संक्रमण फैलिसकेको थियो ।’
कोरोनालाई नियन्त्रण ल्याउन सरकारले लकडाउन गर्यो । तर, लकडाउनले नै गर्दा काठमाडौँमा कोभिड संक्रमण फैलिन सुरु भएको उनी डा.दीक्षित बताउँछन् । ‘लकडाउन भएपछि संक्रमण भएका मानिसहरु पनि घरभित्र थुनिए,’ उनी भन्छन्, ‘उनीहरुले नै परिवारमा अरुलाई संक्रमण फैलाए । लकडाउन खुकुलिएपछि संक्रमित बाहिर निस्किए । अरुलाई पनि सारे ।’
‘सावधानी अपनाउन छाड्नु हुँदैन’
लकडाउन छलेर काठमाडौँ छिर्नेप्रति जनस्वास्थ्य वैज्ञानिक डा. दीक्षितको गुनासो छ । त्यस्तै, कन्ट्याक्ट ट्रेसिङ पनि राम्रोसँग हुन नपाएकोले कोभिड-१९ व्यापक रुपमा सरेको उनी बताउँछन् । ‘यो बीचमा जात्रा भए, आन्दोलन भए,’ उनी भन्छन्, ‘कसैले मास्क लगाएनन् कसैले दूरी कायम गरेनन् । हाम्रो बदमासी यहींनेर भयो । राज्य र नागरिक दुवै त्यो बेला बढी गैरजिम्मेवार भए ।’
त्यो बेला लकडाउन नामको मात्र भएको उनी बताउँछन् । ‘लकडाउन नामको मात्र भयो,’ उनले भने, ‘लकडाउन न कडा भयो न खुकुलो । आजको दिनमा पनि उपत्यकामा जोर बिजोर गाडी चलाउने भनेको छ तर, त्यसबाट हामीलाई केही फाइदा भएको छैन ।’
बारा, पर्सा, कपिलवस्तु जस्ता जिल्लालाई हामीले उदाहरणका रुपमा लिन सक्ने उनले बताए । ‘उताको जनसंख्या कम भएकाले पनि उनीहरुले नियन्त्रणमा ल्याए,’ उनी भन्छन्, ‘तर, हामीसँग सुरक्षित भएर हिँड्नेबाहेक अर्को विकल्प छैन । मास्कसँगै दूरी कायम गर्ने कुरालाई हामीले भुल्नु हुँदैन ।’
सरुवा रोग विशेषज्ञ डा. पुनले कोभिड व्यापक रुपमा फैलिएको बेलामा लापरबाही गरिएकाले यो दिन आएको बताउँछन् । ‘टेस्ट गरिदिनुपर्यो भनेर धेरै मानिसहरु आएका थिए,’ उनी भन्छन्, ‘बाहिरी जिल्लाबाट आएका मानिसहरुलाई घरबेटीले दिएको प्रेसर पनि राम्रै थियो । तर, यसलाई अन्यथा रुपमा लिइयो ।’
निषेधाज्ञा गर्ने बोलामा लगभग धेरैमा कोभिड देखिइसकेको उनी बताउँछन् । ‘घरको एउटामा कोभिड देखिने बित्तिकै परिवारमा देखिन थाल्यो,’ उनी बताउँछन् ‘त्यसपछि कार्यालयमा सँगै काम गर्ने साथीहरुबाट पनि एकअर्कामा सर्यो । यसरी थाहा नपाइ काठमाडौँमा कोभिड नमज्जाले एकअर्कामा सर्यो ।’
कोभिड संक्रमण उच्च रुपमा फैलिएको बेलामा काठमाडौँलाई कसरी व्यवस्थित गर्ने भन्ने योजना नबनेको उनी बताउँछन् । ‘निषेधाज्ञामा पनि आफ्नो साथी समूहबीच पार्टी गर्ने, बाहिर निस्किने, मास्क लगाए पनि सही तरिकाले नलगाइदिने, मुख्य सडक शान्त भएपनि भित्री सडकहरुमा ग्रुप-ग्रुपमा बसिदिने गरेकोले निषेधाज्ञा पनि सोचेको जस्तो प्रभावकारी भएन,’ उनी भन्छन् ।
योजनाअनुसार नभएकाले लकडाउन र निषेधाज्ञाले फाइदाभन्दा बढी घाटा गरेको उनको अनुभव छ । ‘जुन उद्देश्य राखेर लकडाउन र निषेधाज्ञा गरियो त्यो पूरा हुन सकेन,’ उनी भन्छन्, ‘अब कोभिड विस्तारै एउटा बिन्दूमा गएर मात्र मत्थर हुन्छ । तर, सावधानी भने अपनाउन छाड्नु हुँदैन । भ्याक्सिन नआएसम्म र विश्वबाट कोरोना निर्मूल नभएसम्म हामीले सावधानी अपनाइरहनुपर्छ ।’

रातको खानामा भुलेर पनि नखानुस् फलफूल र सलाद
बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चार दिनमा निको हुने रुघाखोकी दुई हप्ता बढी लाग्दै

अब 'एक्सरे'को आवश्यकता नपर्ने, सेन्सरले नै बताउनेछ हड्डीको अवस्था

गर्मीमा छालालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

चीनले बनायो नयाँ थेरापी प्रविधि : अब १९ हजार रुपैयाँमा क्यान्सरको उपचार

प्रतिक्रिया