राष्ट्रपति निवासमा चेम्बरको ७०औं वार्षिकोत्सव

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताएकी छिन् ।
राष्ट्रपति निवासमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोह राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चेम्बर अफ कमर्सजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको उल्लेख गरिन् ।
‘नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवर्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको छ,’ राष्ट्रपतिले भनिन्, ‘साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिका प्रशंसनीय छ ।’
औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको राष्ट्रपतिको भनाइ थियो ।
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको उल्लेख गरे । उनले नीजि क्षेत्रलाई जीवन्त सहकार्यक लागि आह्वान गरेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” महाअभियानको सारथी भएको भन्दै उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहेको उल्लेख गरे ।
राष्ट्रपतिद्वारा स्मृति ग्रन्थ विमोचन
नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ प्रकाशित गरेको छ । सोमबार आयोजित वार्षिकोत्सव समारोहमा राष्ट्रपति भण्डारीले स्मृति ग्रन्थ विमोचन गरेकी थिइन् । स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चेम्बरले ‘नेपाल चेम्बर अफ कमर्स : स्मृति ग्रन्थ (२००७—२०७७)’ प्रकाशित गरेको हो । स्मृति ग्रन्थमा नेपाल चेम्बर अफ कमर्सको विकासक्रम, नेपालको व्यावसायिक इतिहास, पूर्व अध्यक्षहरूको परिचय, चेम्बरका ऐतिहासिक तस्बिर लगायतका सामग्री समेटिएका छन् ।
सम्मान
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चेम्बर अफ कमर्सले ७० वर्षको अवधिमा अध्यक्ष भई संस्थाको नेतृत्व गरेका पूर्वअध्यक्षहरूलाई सम्मान समेत गरेकी छिन् । दिवंगत अध्यक्षहरूका परिवार तथा सन्ततिहरूले सम्मान ग्रहण गरेका थिए ।संस्थापक अध्यक्षहरू स्व. लोकनाथ जोशी, स्व. जुद्धबहादुर श्रेष्ठ, स्व. बिहारीलाल खेतान, स्व. गोबद्र्धनलाल मास्के, स्व. रतिराम अग्रवाल, स्व. जनकदास श्रेष्ठ, स्व. बालकृष्ण श्रेष्ठ, स्व. इन्द्रभक्त श्रेष्ठ, स्व. राजबहादुर चिपालु, स्व. बनवारीलाल मित्तल, स्व. ईश्वरलाल श्रेष्ठका परिवार तथा आफन्तले सम्मान ग्रहण गरेका थिए । यस्तै पूर्व अध्यक्षहरू महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र हालका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गरेकी छिन् ।

नयाँ वर्षमा रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क ट…

एमएडब्लू वृद्धिले निर्माण गर्यो नेपालभर १ सयभन्दा बढी स्थानमा चार्जिङ स्टेसन

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकाल…

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

प्रतिक्रिया