पेट्रोलियम पदार्थमा लगाइएको अचाक्ली कर कम गर

कोभिड महामारीले विश्व अर्थतन्त्रलाई नै चौपट तुल्यायो । यो कहरको असर क्रमिक रुपमा कम हुँदै जाँदा विश्व बजारमा पेट्रोलियमको खपत ह्वात्तै बढ्यो र अन्तर्राष्ट्रिय मूल्य पनि बढ्दै गयो । त्यसमाथि रुसले युक्रेनमाथि धावा बोलेपछि कच्चा तेलको मूल्य अकासिएको छ ।
विश्वव्यापी वित्तीय संकटसँगै सन् २००८ को जुलाईमा मूल्य प्रतिब्यारेल (१५९ लिटर) १४७ अमेरिकी डलर सम्म पुगेको थियो । अहिले पुनः कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरसम्म पुगिसकेको छ । रुस–युक्रेन युद्धले पेट्रोलियम लगायत अन्य वस्तु तथा सेवाको अन्तर्राष्ट्रिय मूल्य पनि बढाएको छ ।
नेपालमा त्यसको प्रत्यक्ष असर देखिइसकेको छ । नेपाली बजारमा पेट्रोल र डिजेलको उपभोक्ता मूल्य अहिलेसम्मकै उच्च भएको छ । त्यसमाथि पेट्रोलियमबाटै वर्षको एक खर्बभन्दा बढी राजस्व असुल्ने सरकारले करको दायराभन्दा पनि दर बढाउँदै लगिरहेको छ । एक लिटर पेट्रोलमा मात्रै ५८ रुपैयाँ कर लिने सरकारले अन्तर्राष्ट्रिय बजारमा अचाक्ली रुपमा वृद्धि हँुँदै गएको भाउलाई उपेक्षा गरी नागरिकलाई अझ बढी सास्ती दिएको छ ।
हरेक अर्थ मन्त्रीले राजस्व उठाउवने एकमात्र सजिलो र मेहेनत गरिरहनु पर्ने अस्त्र पेट्रोलियम पदार्थलाई बनाउँदै आएका छन् । बन्दै नबन्ने बूढीगण्डकीका नाममा झन्डै सय अर्ब रुपैयाँ कर उठ्न लागिसकेको छ । अझ केपी अोली सरकारका अर्थ मन्त्री युवराज खतिवडाले एकैचोटि पेट्रोल र डिजेलमा प्रतिलिटर १०–१० रुपैयाँ कर बढाइदिए ।
त्यतिबेला कर बढाउँदा कोभिड–१९ महामारीका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको माग घटेर मूल्य अहिलेभन्दा चार गुणा कम भएको थियो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिद गर्ने मूल्य नै घटेकाले कर बढाउँदा त्यसको प्रभाव बजार मूल्यमा परेको थिएन । यद्यपि कर नबढाइदिएको भए आम उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दाको लाभ प्राप्त गर्ने थिए । तर अहिले अन्तर्राष्ट्रिय बजार मूल्य उच्च गतिमा बढेकाले सरकारले थोपरेको करका कारण इन्धनको उपभोक्ता मूल्य अझै आकाशिएको छ ।
पेट्रोलियम कुनै पनि देशको अर्थतन्त्रको इन्जिन मात्र होइन, जनताको हातमुख जोड्ने मेलोसँग पनि जोडिएको छ । अहिले नै पेट्रोलियममा भएको मूल्यवृद्धिको असर यत्रतत्र सर्वत्र परिसकेको छ । हरेक वस्तुको भाउ बढाइएको छ ।
महामारीका कारण जनताको आम्दानी घटिरहेका बेला जीवन यापन लागत भने बढ्दै गइरहेको छ । नागरिकप्रति कुनै संवेदना र जिम्मेवारी नै नभएको सरकारले भाउ समायोजन गर्ने नाममा पेट्रोलमा मूल्य वृद्धि एकमात्र उपाय हो भन्दै आइरहेको छ ।
इन्धनको मूल्यवृद्धिले उपभोक्ताको चुलोचौकोदेखि विकास निर्माणका कामलाई समेत प्रभावित पार्दै लगेको छ । जनतालाई राहत दिनुपर्ने ठाउँमा सरकारले पेट्रोलियम पदार्थबाट कर मात्र असुल्न केन्द्रीत भएकाले आम नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै सरकारले कर घटाउन आवश्यक छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया