शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

माथिल्लो त्रिशूली ३ बी ५८ प्रतिशत पूरा

काठमाडौँ - कोभिड–१९ महामारीको चपेटामा परेकोे माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण असोज २०८० भित्र (सेप्टेम्बर २०२३ सम्पन्न गर्ने लक्ष्यकासाथ काम धमाधम भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ । 

नयाँ वर्ष मनाउन  माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९का कारण फर्कन र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको  निर्माण करिब १५महिना ठप्प प्रायः भएको थियो । 

आयोजनाको  निर्माण २०७७ को चैतबाट मात्र पुनस् सुचारु भएकोमा कोभिड–१९को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्र्व अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचइ ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको प्राधिकरणले बुधबार जारी गरेको प्रेस नोटमा छ । 

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले ३८०५ मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये २८६५ मिटर खनिएको जानकारी दिए ।  

‘सतही विद्युतगृह खन्ने कार्य सम्पन्न भई संरचनाहरुको कंक्रिटिङ सुरु भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्सहरुको जडान गर्दै पहिलो चरणको कंक्रिटिङ आउँदो जेठसम्म सक्ने लक्ष्यकासाथ काम भइरहेको छ,’ गौतमले भने, ‘चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिइ उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामाग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको थिएन, केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरणहरु ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी पाएका छौं ।’

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी ) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा संचालन गर्ने छ । प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन । माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द«टार–त्रिशूली ३ वीहब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ । 

सेयरबापतको बाँकी रकम छिट्टै संकलन 
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निश्कासन गरेको सेयर बापतको बाँकी रकम छिट्टै संकलन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्युनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । 

जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ । 

‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि छिट्टै आह्वान गरिने छ साथै सर्वसाधारण समूहमा रहेका अन्य सेयर पनि  निष्काशन प्रक्रिया अघि बढाइने छ’, प्रबन्ध–सञ्चालक गौतमले भने ।

आयोजनाका प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ रहेको आयोजनाको  निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । 

आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म)े १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ ।