नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी

वीरगञ्ज : पर्साको ग्रामीण भेगबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी भइरहेको स्थानीयले बताएका छन् । भारतमा पेट्रोलियम पदार्थको मूल्य नेपालको तुलनामा महँगो भएका कारण सीमावर्ती क्षेत्रमा दिनहुँ नेपालबाट पेट्रोल र डिजेलको तस्करी भइरहेको एक स्थानीयले बताए । नेपालभन्दा भारतमा पेट्रोल र डिजलको मुल्य ३० रुपैयाँभन्दा बढी महँगो छ ।
नेपालको इन्धन सस्तो भएकाले भारतीय सवारी साधनहरूले रक्सौलसम्म पुग्नेगरी इन्धन आफ्नो सवारी साधनमा राख्ने गरेका छन् । भारत प्रवेश गर्ने बेलामा ट्यांकी भरेर जाने गरेको प्रत्यक्षदर्सी बताउँछन् ।
पर्साको वीरगन्जलगायत जानकीटोला, भिस्वा, दसौता, पाँडेपुर, महादेवपट्टी, सुवर्णपुर, विजयबस्तीलगायतका स्थानबाट पेट्रोलियम पदार्थको तस्करी हुँदै आएको छ । त्यहाँबाट भारतीय बजार घुमाटार, भङ्गाहा, इनर्वा, मैनाटार र सिकटासम्म तस्करीमार्फत पेट्रोल र डिजेल जाने गरेको स्थानीयवासीको भनाइ छ ।
नेपालबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी हुन थालेपछि नेपालतर्फका सेवाग्राही मर्कामा परेका छन् । नेपाल आयल निगमबाट ग्रामीण क्षेत्रमा पर्याप्तरूपमा पेट्रोलियम पदार्थ पूर्ववत रूपमा आपूर्ति हुँदै आए पनि अहिले तस्करीका कारण ग्रामीण क्षेत्रलगायत सहर बजारका केही पेट्रोलपम्पमा समेत सेवाग्राहीले पेट्रोल र डिजेल नपाउने गरेको गुनासो छ ।
यसले नेपालतर्फका सेवाग्राहीलाई समस्या भइरहेको छ । मोटरसाइकल, ट्याक्टर र कृषिजन्य कामको लागि पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा समस्या भोग्नु परेको पर्साको सेढवाका स्थानीय नेसार समानीले गुनासो गरे ।
पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने ग्रामीण भेगका पेट्रोल पम्पहरूमा कालोबजारी भएको सूचना आएपछि निरन्तर अनुगमन गर्नुका साथै कारबाही समेत गरिएको बताए । तस्करी बढेको जानकारी आउनासाथ केही पेट्रोलपम्पलाई करबाही समेत गरिएको नेपाल आयल निगम लिमिटेडका उपनिर्देशक एव् प्रवक्ता विनित मणी उपाध्यायले बताए ।
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर

पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

‘हाम्रो माया घर’ निर्माणले गति लियो

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

प्रतिक्रिया