आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

अटाे भाडामा विवाद हुँदा भारतीय नागरिककाे हत्या

कैलाली - धनगढीमा सोमबार एक युवकको हत्या गरेर फालिएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले हत्या आरोपमा बाजुराको खप्तड छेडेदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई पक्राउ गरि सार्वजनिक गरिएको बताए।

बुढाद्वयले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए। प्रहरीका अनुसार राजेन्द्र बुढाले चलाएको अटोमा बसेका गुप्ता र अर्का भुपेन्द्र बुढा तिनै जनाले मदिरा सेवन गरेको र अटोभाडाको विवाद भएपछि बुढाद्वयले गुप्ताको हत्या गरेर फालेको बताइएको छ ।

अटोमा जाँदै गर्दा पार्कमोडस्थित प्रदेश सभा अगाडि कुलदीपलाई उनीहरुले भेटेका थिए । कुलदीपले जाली भन्ने स्थानमा जाने भनेपछि उनलाईसमेत अगाडि बसाई नैनादेवी मन्दिर हुदै चक्मेली बजारबाट शिवनगरको बाटो हुदै अगाडि रिक्सा बढेकाे थियाे ।

सोही क्रममा निजहरु बीच भाडाको विषयमा विवाद हुँदा शिवनगरबाट जाई जाने सडकको कल्वट नजिक पुगेपछि भारतीय नागरिकले गुप्ताले नेपाली लोग भनेर गाली गलौज गर्न थाले पछि उनीहहरु बीच हात हालाहाल र हानाहान भएको अनुसन्धानमा खुलेकाे प्रहरीले जनाएकाे छ । गुप्ता सडक छेउ नालीमा खसेपछि भुपेन्द्रले अटोमा रहेको काठको टुक्रा प्रहार गरी निजको हत्या गरेको खुलेकाे छ।

सोमबार धनगढीको वडा नम्बर ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेका थिए। प्रहरीले गुप्ताको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान थालेको बताएको छ । गुप्ता भारतबाट धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए।