मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

बजार मूल्य आकाशिदैं, राष्ट्र बैंक भन्छ- औसत मूल्य वृद्धि ३.५८ प्रतिशत मात्रै !

काठमाडौँ : नेपाल राष्ट्र बैंकले माघ महिनामा मूल्य वृद्धि २.७ प्रतिशत मात्रै रहेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार, यो वर्ष साउनदेखि माघसम्मको औसत मूल्य वृद्धि ३.५८ प्रतिशत मात्रै हो । बरु गत वर्ष साउनदेखि माघसम्म औसत मूल्य वृद्धि ६.४ प्रतिशत थियो । मूल्य वृद्धिको मापन यथार्थपरक छ भन्ने स्थापित गर्न त्यसले बजार मूल्यलाई सही रूपमा प्रतिनिधित्व गर्नुपर्छ । 

महामारीले आम्दानी घटेका र रोजगारी गुमाएकालाई कम मूल्य वृद्धि कम हुँदा राहत मिल्छ । तर राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य वृद्धिको तथ्यांक र बजारभाउ बीच तादम्यता नदेखिएको आम उपभोक्ताको गुनासो छ । 

राष्ट्र बैंकले खाद्य वस्तुको तुलनामा गैर–खाद्य वस्तुको मूल्य वृद्धि अझै कम देखाएको छ । शिक्षाको शुल्क त गत वर्षको तुलनामा ०.५ प्रतिशतले घटेको देखाइएको छ । राष्ट्र बैंकका अनुसार घरभाडा र जनउपयोगी सेवाहरू पानी, विद्युत्, दूरसञ्चार, इन्टरनेट लगायतको मूल्य खासै बढेको छैन । लत्ता कपडाको मूल्य वृद्धि गत वर्ष माघको तुलनामा २.८२ प्रतिशतले मात्र बढेको छ । स्वास्थ्य क्षेत्रको मूल्य वृद्धि ३.६ प्रतिशत छ ।

माघयता नेपाल आयल निगमले खाना पकाउने ग्यास लगायत अन्य पेट्रोलियम पदार्थको पनि मूल्य बढाइरहेको छ । माघमा निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १४ सय रुपैयाँ र  पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ११२ रुपैयाँ तथा  डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पुर्‍याएको थियो । इन्धनको मूल्य बढ्दा त्यसले आम उपभोक्ताको भातभान्छादेखि ढुवानी भाडाका कारण समग्र उपभोग्य वस्तुको मूल्य माथि लैजान्छ ।   

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार, तरकारीको मूल्यमा आएको गिरावटले समग्र खाद्य तथा पेय समूहको मूल्य कम देखिएको हो । ‘गत वर्ष माघमा तरकारीको मूल्य ३८.३९ प्रतिशतले बढेको थियो । अहिले त्यो मूल्य १४.७१ प्रतिशतले घटेको छ,’ उनले भने, ‘गत वर्षको उच्च मूल्य सँग तुलना गरिएकाले अहिले मूल्य वृद्धि कम देखिएको हो ।’ 

राष्ट्र बैंकले मूल्यवृद्धि मापन गर्न बनाएको खाद्य वस्तुको डालोमा तरकारीको मूल्यको भार (वेटेज) ५.५ प्रतिशत रहेको छ । 
बजारमा अहिले तेल र माछामासुको मूल्य अत्याधिक बढेको छ । गत वर्षको माघको तुलनामा तेल तथा घिऊको मूल्य १८.१४ प्रतिशतले बढेको छ भने फलफूलको मूल्य १८.८४ प्रतिशतले बढेको छ । 

त्यस्तै, दालको मूल्य १०.४१ प्रतिशतले बढेको छ । 

खाद्यवस्तुको डालोमा ठूलो भार (६.७५ प्रतिशत) भार भएको माछामासुको मूल्य ८.१९ प्रतिशतले बढेको छ । सूर्तीजन्य र मदिराजन्य वस्तुहरूको मूल्य पनि उच्च रूपमा बढेको भएपनि खाद्यवस्तुको डालोमा तिनीहरूको भार न्यून रहेकाले यसले समग्र मूल्य वृद्धिलाई ठूलो प्रभाव नपारेको प्रवक्ता भट्टले बताउँछन् । 

नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य वृद्धि चालु आर्थिक वर्ष २०७७–७८ मा ७ प्रतिशत भित्र राख्ने लक्ष्य राखेको छ । 

राष्ट्र बैंक: आफैं मापक, आफैं नियामक !

सबैभन्दा आश्चर्य त नेपाल राष्ट्र बैंकले आफैं उपभोक्ता मूल्य वृद्धिको मापन गर्छ । मूल्य नियन्त्रण गर्ने दायित्व पनि उसैको हो । मौद्रिक नीतिको एउटा प्रमुख लक्ष्य मुद्रास्फिति वाञ्छित सीमा भित्र राख्नु पनि हो, जुन केन्द्रीय बैंकको मौद्रिक सञ्चालनको प्रमुख कार्यभित्र पर्छ । तर आफैं नियामक भएर आफैंले मूल्य वृद्धि मापन गर्ने अधिकार राष्ट्र बैंकलाई नै सुम्पिदाँ यसले सही ढङ्गले मुद्रास्फितिको मापन हुन नसक्ने जानकारहरू बताउँछन् । स्वतन्त्र निकाय वा केन्द्रीय तथ्यांक विभागलाई मुद्रास्फिति मापनको जिम्मेवारी दिए यसले सन्तुलन र नियन्त्रण कायम गर्ने उनीहरूको राय छ ।