ऊर्जा मन्त्रीले गरिन् न्यू बुटवल २२० केभीको सवस्टेशन उद्घाटन

सुनवल (नवलपरासी) : विगत सरकारका पालामा लगानी तथा ठेक्का सम्झौता भई यो सरकारका पालामा आएर तयार भएका पूर्वाधारहरु धमाधम उद्घाटन भइरहेका छन् । ऊर्जा मन्त्रीले तराईका जिल्लामा सम्पन्न भएका विद्युत् सवस्टेशनहरु धमाधम उद्घाटन गर्दै आएकी छिन् भने प्रधानमन्त्रीले पर्सी न्यू खिम्ती सवस्टेशनको उद्घाटन गर्दै छन् ।
नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०-१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन ऊर्जा मन्त्री पम्पा भुसालले आज बिहीबार गरिन् ।
मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सुदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत छिमेकी मुलुकहरुमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रुपमा अगाडि बढिरहेको बताइन् ।
रसिया र युक्रेनबीचको युद्धले अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमासमेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युतको खपत बढाउन आग्रह गरिन् । ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेसन बनेपछि भारतसँग विद्युत व्यापारका लागि थप पूर्वाधार तयार भएको बताए ।
नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करिब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिंदै सबस्टेसन निर्माणबाट विद्युत प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताए । उनले ऊर्जालाई प्रतिस्पर्धी बनाउन सकिएमा नेपाल दक्षिण एसियाली क्षेत्रकै विद्युत हब बन्न सक्ने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत आपूर्तिका लागि अर्को ३३-११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको बताए । उनले नेपालको विद्युत महसुल सस्तो रहेको र मागे जति विद्युत उपलब्ध गराइरहेको यस क्षेत्रमा उद्योगहरु खोल्न आग्रह गरे ।
एसियाली विकास बैक नेपाल कार्यालयको पोर्टफोलियो विभाग प्रमुख रुडिभान डेयलले सबस्टेसन तोकिएको लागतमा निर्माण सम्पन्न गरी उदाहरणीय कार्य भएको टिप्पणी गरे । उनले स्वच्छ, विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि सबस्टेसनको ठूलो योगदान रहने बताए ।
कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।
नेपाल सरकारको लगानी, नर्वेको अनुदान र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋणमा सबस्टेसनको निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि ८ नोभेम्बर २०१७ मा करिब एक अर्ब आठ करोड रुपैयाँमा टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य एक अर्ब पाँच करोड रुपैयाँमा २३ नोभेम्बर २०२१ मा सम्पन्न भएको थियो ।
नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि न्यू बुटवल सबस्टेसनबाट सुरु हुने छ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करिब २० बिघा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसन पछिको दोस्रो ठूलो विद्युत् हब बन्नेछ ।
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत दिने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्ने छ । बर्दबाट–न्यू बुटवल २२० केभी र न्यू बुटवल– कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया