सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

जहाज थपेर व्यवसाय विस्तार गर्दै हवाई सेवा प्रदायक कम्पनी

फाइल फोटो

काठमाडौँ-  निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले जहाज थपेर व्यवसाय विस्तारमा जुटेको छ । 

बुद्ध एयरले थप एटिआर–७२ (७२ सिटे) जहाज भित्र्याएर आक्रामक रुपमा बजार विस्तारमा लागेको हो । बुद्ध एयरले हालै थप एक थान एटिआर ७२ जहाज भित्र्याएको छ । योसँगै कम्पनीसँग अब ११ वटा एटिआर–७२, तीनवटा एटिआर–४२ र दुई वटाबीच क्राफ्टसहित १६ जहाज छन् । थप चार जहाज आउने प्रक्रियामा रहेको र करिब चार महिनाको अन्तरालभित्रै ती जहाज नेपाल आइपुग्नेछन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कुमार कर्णले जहाज थपेर बजार विस्तार गर्न कम्पनी लागि परेको बताए। उनका अनुसार देशको भौगोलिक अवस्था र जनजीवनलाई सहज तुल्याउन कम्पनीले बजार विस्तारको रणनीति  लिएको जनाइएको छ ।

आफ्नो २४ वर्षे यात्राको आरोह अवरोहलाई छिचोल्दै बुद्ध एयरले आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको कम्पनीले उल्लेख गरेको छ । सन् १९९७ अक्टोवर ११ मा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो ।

बुद्ध एयरले हाल दैनिक करिब नौ हजार यात्रुलाई सेवा दिइरहेको छ ।  कम्पनीले दैनिक १५० हाराहारी उडान गरिरहेको छ । आन्तरिक हवाई यात्रुले भरिभराउ छ अर्थात झण्डै ९० प्रतिशत आन्तरिक हवाईयात्रुले जहाज भरिने गरेको कम्पनीका सूचना अधिकारी कर्णले बताए । उनले कोभिड पूर्वकै अवस्थामा कम्पनीको आन्तरिक उडान भइरहेको उल्लेख गरे । कोभिड–१९ महामारी घटेर सहज वातावरण बनेपछि अहिले भारतीय नागरिक पनि आउन थालेकाले पर्यटन बजार फष्टाउने अपेक्षा उनको छ ।