शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टबिन सहयोग

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयलाई पानी ट्याङ्की र डस्टबिन सहयोग गरेको छ ।  विगत २७ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले 'एक शाखा, एक सामाजिक उत्तरदायित्व' को नारालाइ आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरू संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ । 

सोही कार्यलाई निरन्तरता दिदै महालक्ष्मी विकास बैंक साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साँफेबगर स्थित सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको हो । 

सूर्यचन्द्र  प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच स्वच्छ खानेपानीका लागी एक हजार र पाँच सय लिटरको एक–एक हिल ट्यांक र डष्टबिन हस्तान्तरण गरिएको कुरा महालक्ष्मी विकास बैङ्क शाखा कार्यालय साँफेबगर शाखा प्रबन्धक पुनित शाहले जानकारी दिए । 

क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टबिन र पानी ट्यांकी सहयोग गरिएको उनले जनाएका छन् ।

सरसफाइ सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रबिन्द्र  बहादुर शाहले विद्यालयलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनहरूमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । 

उक्त बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कूल १०३ वटा शाखाहरूमार्फत करिब ६ लाख ग्रहकहरूलाई वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।