आठ हजार स्थानीयवासी लाभान्वित हुने खानेपानी आयोजनाको उद्घाटन

पाँचथर – पाँचथरको तुम्बेवा गाउँपालिकामा निर्माणाधीन वृहत पम्पिङ खानेपानी आयोजनाको साेमबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का एक हजार ६०४ घरधुरीमा खानेपानी पुर्याउने उद्देश्यका साथ आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना निर्माण भइरहेको छ ।
आयोजना हेर्ने संघीय खानेपानी तथा ढल निकास आयोजना इलामका प्रमुख सुरतलाल चौधरीका अनुसार एक हजार ६०४ घरधुरीमध्ये हालसम्म ९०४ घरधुरीमा पाइपलाइन विस्तार भएको छ भने मौवा बजारका करीब ४० घरमा खानेपानी वितरण सुरुवात भएको छ । साेमबार तुम्बेवा गाउँपालिका–३ मौवा बजारस्थित इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको धाराको टुटी खोलेर प्रधानमन्त्री देउवाले आयोजनाको उद्घाटन गरेका हुन् ।
चौधरीका अनुसार आयोजनाको हालसम्म करीब ९५ प्रतिशत भौतिक प्रगति हासिल भए पनि उपभोक्ता समिति, तुम्बेवा गाउँपालिका तथा अन्य सरोकारवालाको आग्रहमा आयोजनाको उद्घाटन गरिएको हो ।
आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आयोजनाले खानेपानीको संवैधानिक अधिकार तथा दीगो विकासको लक्ष्य प्राप्तिका लागि सहयोग गरेको बताए । 'स्वच्छ खानेपानी र सरसफाइको सुविधा आम नागरिकसम्म पुर्याउनु सरकारको दायित्व हो,' प्रधानमन्त्री देउवाले भने, 'सहरी र गाउँहरूमा स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था अझैसम्म सुनिश्चित पार्न सकिएको छैन । जसकारण धेरै समय खानेपानीको खर्च गर्नु परेको छ ।'
यस प्रकारको अवस्था अन्त्य गर्न स्थानीय स्तरका मुहानमा आधारित साना र मझौला आयोजना निर्माणमा जोड दिनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले चालु १५औं पञ्चवर्षीय अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले बेमौसमी वर्षाका कारण भएको क्षतिको पुनर्निर्माण तथा क्षतिपूर्तिको ब्यवस्था तथा विशेष महत्वमा आयोजनाहरूको निरन्तरता सरकार प्रतिवद्ध रहेको बताए ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले पहाडी क्षेत्रमा खानेपानीको मुहान संरक्षणको योजना अगाडि बढाइएको बताउँदै लिफ्टिङ तथा पम्पिङ खानेपानी आयोजनामा विद्युत महसुल छुटको व्यवस्था गर्ने व्यवस्था आवश्यक रहेको बताए ।
तुम्बेवा गाउँपालिका वडा नं. १, २, ३ का एक ६०४ घरमा खानेपानीको सुविधा पुर्याउन असार २०७४ बाट आयोजना निर्माण थालिएको थियो । ४५ करोड २० लाख नौ हजार ४०६ रुपैयाँको लागतमा उक्त आयोजना निर्माण भएको आयोजनाबाट आठ हजारभन्दा बढी स्थानीयवासी लाभान्वित हुने सरकारी तथ्याङ्क छ ।
तमोर नदीको लखुवाघाटबाट विभिन्न स्थानमा रहेका सातवटा पम्पिङ ट्याङ्कीहरुको सहायताले एक हजार ३३६ मिटरमाथि मौवा डाँडामा ल्याई वितरणको व्यवस्था मिलाइएको हो । जस कार्यका लागि ११ केभीएको विद्युत प्रशारण लाइन २३ किलोमिटर विस्तार गरिनुका साथै १९ किलोमिटर ट्रान्समिसन लाइन निर्माण गरिएको छ । आयोजनामा प्रतिसेकेन्ड १०.९७ लिटर पानी मौवा बजारस्थित अन्तिम पम्पिङ ट्याङ्कीमा आउने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।
आयोजनाको साेमबार उद्घाटन भए पनि खानेपानी वितरणको कार्य सुरुवातकै चरणमा छ । एक ६०४ घरधुरीमा खानेपानी पुर्याउनुपर्ने भए पनि हालसम्म करिब ९०० घरसम्म पाइपलाइन विस्तार भएको छ । यस्तै मौवा बजारका करिब ४० घरमा खानेपानी वितरण थालिएको छ । अन्यत्र क्रमशः खानेपानी विस्तार हुने संघीय खानेपानी तथा ढल आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताए । कार्यक्रममा तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले पम्पिङका क्रममा लाग्ने विद्युत महशुल छुटको ब्यवस्था गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया