कर्फ्यूपछिको लेटाङ : सन्त्रास र अन्यौलतामै बित्यो खेरुवाबासीको दिन

लेटाङ – एक महिला प्रहरी जवानको ज्यान जाने गरी मोरङको लेटाङ–५ खेरुवामा भएको झडपपछि लागेको कर्फ्यूका कारण स्थानीयबासीले घटनाको सन्त्रास र कर्फ्यूपछिको अन्यौलतामै दिन बिताएका छन् ।
आइतबार दिउँसैदेखि तनावग्रस्त बनेको खेरुवास्थित शिक्षा विकास मावि प्राङ्गण र वरिपरीको सडक क्षेत्रमा प्रहरीसँग स्थानीयबासी र विद्यार्थीको झडप भएको थियो। लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माबिका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रालाई गत शुक्रबार होलीको रंग दल्ने बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा आन्दोलित बनेका स्थानीय र विद्यार्थीले प्रदर्शन चर्काएका थिए ।
शिक्षक पौडेलले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थी र अभिभावकहरुले निवेदन दिएपछि घटनाबारे बुझ्न आरोपी शिक्षक र पीडित भनिएकी छात्रालाई राखेर आइतबार ११ बजेदेखि छलफल भएको थियो । छलफलका क्रममा आक्रोशित बन्दै गएका विद्यार्थीहरु विद्यालय छुट्टी भएर घर गएपछि विद्यालयमा भेला भएका स्थानीय र पीडित छात्राका आफन्तसँग प्रहरीको मुडभेड सुरु भएको थियो । घटना चर्किएपछि शिक्षक पौडेललाई बचाएर लैजाने क्रममा आक्रोशित भएको भिडले सुरक्षामा खटिएको प्रहरीमाथि अधाधुन्द आक्रमण गरेको जनाइएको छ ।
रात पर्दै गएपछि बढेको भिडले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले पनि बल प्रयोग गर्दै अश्रु ग्याँस प्रहार गरेकाे थियाे । अश्रु ग्याँसका लागि विद्यालय वरिपरिको क्षेत्र बेलुका १० बजेसम्म तनावग्रस्त बनेको थियो । सोही क्रममा आक्रोशित भिडले सुरक्षाका लागि घटनास्थलमा खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई एक्लै भेटेपछि आक्रमण गरेको हो । आक्रोशित भिडले विद्यालयदेखि करिब तीन सय मिटर तल रहेको धराने चोकमा प्रहरीलाई सडकको दुईतिरबाट घेरा हालेर आक्रमण गरेको र सोही क्रममा प्रहरी जवान श्रेष्ठलाई घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो ।
घटनास्थलमा रातिदेखि थप सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणको प्रयास गरिएको र सोमबार विहान ७ बजेदेखि त्यस क्षेत्रमा कर्फ्यू लगाइएको थियो । आइतबार दिउँसोदेखि १० बजेसम्मको झडप, त्यसपछि प्रहरीले हानेको अश्रु ग्याँसबाट इन्तु न चिन्तु भएका स्थानीयबासी भने सोमबार विहानैदेखि लगाइएको कर्फ्यूका कारण थप सन्त्रासमा दिन बिताए ।
विद्यालय परिसर रणमैदान
घटनास्थल लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माध्यमिक विद्यालय परिसर आइतबार रणमैदान बनेको थियो । झडपमा आन्दोलनकारीहरुले बोतलमा पेट्रोल भरेर प्रहरीमाथि आक्रमण गरेको मोरङ प्रहरीको दाबी छ । विद्यालयको चौर सिसाका खाली बोतल र ढुंगामुडाले ढाकेको छ ।
प्रशासनिक कक्षमा लाखौं मूल्यका फर्निचर तोडफोड भएका छन् भने कागजातहरुमा पनि आगजनीको प्रयास भएको पाइएको छ । दिनभर विद्यार्थी र स्थानीय नै प्रदर्शनमा उत्रिए पनि रात परेपछि भने उक्त आन्दोलन नचिनेका व्यक्तिहरुको नियन्त्रणमा पुगेकोले प्रहरीको ज्यानै जाने गरी उक्त घटना हुन पुगेको स्थानीयहरुले बताए ।
स्थानीयका अनुसार घटनालाई विद्यालयभित्र छलफल गरेर मिलाउने प्रयास भएका कारण पनि ठुलो क्षति भएको छ । आरोपी शिक्षकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा लगेर छलफल गरेको भए यस्तो घटना नहुने स्थानीयको भनाइ थियो ।
आक्रोशित भिडले यौन र्व्यवहारमा संलग्न रहेको आरोप लागेका शिक्षक पौडलसहित दुई जना शिक्षकको मोटरसाइकलमा आगजनी गरेकाे छ । केही शिक्षकको मोटरसाइकलमा तोडफोड गरेका छन् । उनीहरुले विद्यालयको खानेपानी ट्यांकी, बोर्ड, धारा लगायतका भौतिक संरचना समेत भत्काइदिएका छन् ।
घटनास्थलमा सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नम्बर प्रदेश प्रहरी कार्यालयका डीआईजी अरुण कुमार विसी लगायतका सुरक्षा निकायका प्रमुखहरुले स्थलगत निरिक्षण गरेका छन् ।
प्रजिअ दाहालले आफूले घटनास्थलमा प्रदर्शन चर्किएपछि पनि प्रहरीले सक्दो संयम अपनाउन खोजेको र त्यसैको फाइदा उठाएर प्रहरीमाथि आक्रमण हुँदा एकजना महिला प्रहरीले ज्यान गुमाउनु परेको बताए । उनले घटनाको अनुसन्धान सुरु भइसकेकोले र दोषीहरुलाई कुनैपनि बहानामा नछाडिने बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया