बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्न धेरै समय पर्खिएका तीन क्रिकेटर

काठमाडौँ  : जो सुकै खेलाडीलाई राष्ट्रिय टोलीबाट खेल्ने सपना हुन्छ नै । भारतमा क्रिकेटरहरू अपवाद होइनन् । भारतीय समाजमा क्रिकेट फगत खेल मात्रै होइन । विभिन्‍न धर्म र जातलाई जोड्ने सेतु पनि हो । भारतमा राष्ट्रिय टिममा पर्न सजिलो छैन । सिनियर टिममा मात्र होइन, उमेर समूह र राज्यस्तरका टिममै पर्न अत्याधिक प्रतिस्पर्धा हुन्छ ।

प्रतिभा र कौशल भएपनि क्रिकेटहरूले राष्ट्रिय टिममा पर्न र अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु धेरै समय पर्खनुपर्ने पनि हुन्छ । यस आलेखमा त्यस्तै तीन क्रिकेटहरूका बारेमा उल्लेख गरिएको छ ।

अम्बाती रायडु 
अम्बाती रायडुले भारतीय क्रिकेट टिमका लागि डेब्यु गर्न २८ वर्षको उमेरसम्म पर्खनु पर्‍यो । उनी सन् २०१५ को विश्वकपमा भारतीय टिमको सदस्य रहे पनि त्यसपछिका खेलहरुमा भने उनी छनौटकर्ताको नजरमा परेनन् । सन् २०१६ मा उनलाई फेरि राष्ट्रिय टिममा बोलाइयो ।

त्यस्तै, उनले सन् २०१८ को इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्‍नाई सुपर किंग्सका लागि राम्रो खेल देखाए । रायडुले भारतका लागि ५५ एक दिवशिय खेल खेलेका छन् । जसमा उनले १६ सय ९४ रन बनाएका छन् । उनको कुल स्कोरमा तीन शतक र १० अर्धशतक सम्मिलत छन् । रायडु राम्रो लयमा हुँदा पनि सन् २०१९ को विश्वकपका लागि उनी भारतीय टिममा परेनन् । जसले उनलाई निराश बनायो । र, सन्यास लिन बाध्य बनायो । यद्यपि उनी सन्यासबाट दुई महिना पछि नै फर्के ।

सूर्यकुमार यादव 
सूर्यकुमार यादव भारतीय क्रिकेट टिममा मौका पाउन धेरै समय पर्खने खेलाडीहरूमध्येका एक हुन् । भारतीय टिममा चार नम्बरमा ब्याटिङ गर्ने खेलाडीको खोजी भइरहँदा यादव छनौटकर्ताको नजरमा परेनन् । निर्णायक ओभरहरूमा यादव महत्वपूर्ण सावित हुनसक्ने खेलाडी भए पनि उनले लामो समय मौका पाएनन् ।

घरेलु क्रिकेटमा मुम्बईका लागि सधैँ बलियो लय देखाएका यादवले राष्ट्रिय टिममा मौका पाउन सन् २०२१ सम्म पर्खनु पर्‍यो । इंगल्यान्डविरुद्वको टि-ट्वान्टी श्रृङ्खलामा यादवलाई भारतीय टिममा बोलाइयो । उनले मार्च १४ मा भएको दोस्रो टि-ट्वान्टीमा टिममा परे पनि ब्याटिङ गर्न पाएनन् । रोहित शर्मा तेस्रो टि-ट्वान्टीका लागि फर्कदा, यादव फेरि पहिलो एघारबाट बाहिरिए ।

मनिष पाण्डे 
मनिष पाण्डेले विराट कोहली नेतृत्वमा रहेको अण्डर १९ बाट भारतीय जर्सी लगाउन सुरु गरेका थिए । पाण्डे इन्डियन प्रिमियर लिग (आइपीएल) को इतिहासमा शतक प्रहार गर्ने पहिलो भारतीय क्रिकेटर हुन् । सन् २००९ मा रोयल च्यालेन्जर्स बेगंलोरका लागि उनले शतक प्रहार गरेका थिए । उनी आइपीएलको अर्को संस्करणका लागि सनराइजर्स हैदराबादसँग आबद्व छन् ।

भारतको घरेलु क्रिकेटमा निन्तर राम्रो खेल देखाए पनि पाण्डेलाई सन् २०१५ मा आएर मात्रै भारतीय टिममा बोलाइयो । त्यसबखत पाण्डे २६ वर्षका थिए । उनले भारतका लागि २६ एक दिवशिय खेल्दै चार सय ९२ रन बनाएका थिए । जसमा एक शतक र दुई अर्ध शतक सम्मिलत छन् । त्यसैगरी, पाण्डेले ३९ टि-ट्वान्टी खेलेका छन् । उनी आउँदो आइपीएलमा प्रभावशाली प्रदर्शन गर्दै टि-ट्वान्टी विश्वकपका लागि घोषणा हुने भारतीय टिममा पर्ने लक्ष्यमा छन् । (अन्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)