शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

औषधि खरिद–ढुवानीमा नक्कली बिल बनाउनेहरु भ्रष्टाचार फन्दामा

काठमाडौं– औषधि खरिद तथा ढुवानीको नक्कली बिल भपाईका आधारमा सरकारी रकम हिनामिना गर्ने वडाध्यक्षसहित सरकारी कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गजबहादुर रावत, स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, तत्कालीन लेखापाल सुरतबहादुर रेश्मीविरुद्ध ८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन ती प्रतिवादीहरुबाट उक्त रकम असुल गर्नुपर्ने, बिगो बमोजिम जरिवाना र अधिकतम कैद सजायको माग गरेको छ ।

तिनीहरुले मिलेमतोमा आफू वा अन्य व्यक्तिलाई लाभ लिंँदै सरकारलाई हानी नोक्सानी पुर्‍याउने बदनियतले औषधि खरिद तथा ढुवानीको नक्कली बिल भरपाई तयार गरेको अभियोग आयोगले लगाएको छ । आयोगका अनुसार, बिभिन्न व्यक्तिहरुले रकम बुझेको भरपाई बनाई, प्राप्त बिल भरपाईको सत्यतथ्य जाँच नगरी भुक्तानीका लागि सिफारिस गर्नुका साथै ८ लाख रुपैयाँ अनुचित भुक्तानी लिएका हुन् ।