शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

स्थानीय सरकारले जनताका धेरै काम गरेका छन् : ऊर्जामन्त्री भुसाल

फाइल तस्बिर

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधाहरू घरदैलो नजिकै पुर्‍याएको बताएकी छन् । ललितपुर महानगरपालिका वडा नं २३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले भनिन्, ‘पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको छ ।’

स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही तवरले प्रयोग गरेर जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिइन् । ‘कानुन पनि नभएको अवस्थामा जनताको आकांक्षालाई सम्बोधन गर्न गाह्रो थियो, अनुभव पनि थिएन, यद्यपि पाँच वर्षमा स्थानीय सरकारले धेरै काम गरेका छन् ।'

जनताले घर नजिकैबाट सेवा पाएकोमा खुशी व्यक्त गर्दै मन्त्री भुसालले परिवर्तनको आन्दोलनमा आफूहरूले जीवन खर्चिएको र परिवर्तनका एजेन्डा कार्यान्वयन गर्ने अवसर पाएकाले त्यसलाई स्थानीय जनप्रतिनिधिले भरपुररूपमा सदुपयोग गर्नुपर्ने बताइन् ।

ललितपुर महानगरपालिका र त्यसअन्तर्गतका वडा मात्र नभइ देशभरका स्थानीय सरकारले जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालको भनाइ थियो, ‘आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेर स्थानीय सरकारले जनताको सेवा गर्नुपर्छ ।’

ठेकेदारका कारण कतिपय भौतिक पूर्वाकारका काममा ढिलाइ हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले जनताले आफ्नो अधिकारका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताइन् । ‘जनप्रतिनिधिले आफ्ना जनताका लागि योजना पार्ने हो, बजेट छुट्ट्याउने हो, त्यसपछि खरिद प्रक्रियामा जान्छ, त्यसपछि स्थानीय उपभोक्ताले विशेष चासो राख्नुपर्छ,’ उनले भनिन् ।

जनताको आवश्यकताको आधारमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आफूले विनास गरेरभन्दा पनि संरक्षण गर्दै विकास गर्ने सोचका आधारमा अगाडि बढ्ने विश्वास दिलाइन् ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गमैत्री आधुनिक भवन बनेसँगै अबका दिनमा जनताले गुणस्तरीय सेवा पाउनुपर्ने बताए । उनले महानगरपालिकाले निरन्तर जनताका कामलाई विशेष प्राथमिकता दिने विश्वास समेत दिलाए । उक्त अवसरमा भवन निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष भुयुकाजी महर्जनले वडा कार्यालय भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।