सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

कांग्रेस केन्द्रीय सदस्यहरूले भने, ‘गठबन्धन गरे कांग्रेसको हालत भारतमा कांग्रेसआईको जस्तै’

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा चुनावी गठबन्धनको विपक्षमा मत जाहेर भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा गण्डकी र लुम्बिनी प्रदेशका सभापतिले भने, ‘गठबन्धन गर्दै जाने हो भने हाम्रो हालत भारतको ‘कांग्रेस आइ’को झैं हुनेछ ।’ 

प्रदेश १ र बागमती प्रदेशका सभापतिले पनि केन्द्रबाट घोषित गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । ‘गठबन्धन गर्दा स्थानीय आवश्यकता अनुसार गर्नुपर्छ,’ बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले भने । 

‘गठबन्धन किन गर्ने, गर्दा के हुन्छ ? केन्द्रबाटै गठबन्धन गर्ने कि स्थानीय आवश्यकता अनुसार गर्ने ?,’ भन्ने विषयमा आजको बैठक केन्द्रीत रहेको बानियाँले बताए । 
कर्णाली प्रदेशका सभापतिले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा कांग्रेस शून्य हुने बताएका छन् । माओवादीले ज–जसले जहाँ जितेको हो त्यो ठाउँ आफूसँगै राखेर एमालेले जितेका स्थानीय तहमा माओवादी केन्द्र र नेकपा समाजवादीबीच भागबण्डा गर्नु पर्ने बताउँदै आएको छ ।

त्यसो कर्दा कर्णालीका धेरै जिल्लामा कांग्रेस शून्य हुने कर्णाली प्रदेशका सभापतिको भनाई छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको संसदीय बोर्ड न्यायसंगत देखिनेगरी बन्नु पर्ने बताएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता महरले आफ्ना मानिसको मात्र नाम खल्तिबाट बोक्ने प्रवृतिको अन्त्य भएर संसदीय बोर्ड न्यायसंगत देखिनुपर्ने धारणा राखेका हुन् ।

केन्द्रीय समिति बैठकमा महरले खल्तीका मान्छे बोक्ने प्रवृत्ति त्यागेर सिंगो पार्टीका बारेमा सोच्न आग्रह गरे । उनले पछिल्लो समय जनताको आकर्षण कांग्रेसप्रति बढेको समेत उल्लेख गरे । 

‘घर–घर जाऔं काँग्रेस जिताऔं अभियानले साच्चै जनतामा उत्साह ल्याएको छ । म कञ्चनपुरका ९२ वडा र ९ पालिकामा पुगेँ । त्यहाँ हाम्रो अभियानले सार्थकता पाएको देखियो । अन्य पार्टी त्यागेर काँग्रेस प्रवेश गर्नेहरूको संख्या पनि बढ्दो छ,’ उनले भने ।

काँग्रेसको कार्यक्रममा हुने उपस्थिति देखेर एमालेलगायतका पार्टीका नेताहरू छटपटाइरहेको आफूले पाएको महरको भनाई छ । 

‘कम्युनिस्टहरू झुटको राजनीति गर्ने चरित्र उदांगो भएकाले पनि जनताको विश्वास कांग्रेसप्रति रहेको उनले बताए । जनताको त्यो विश्वासलाई कांग्रेसले जीवन्त पार्नुपर्छ,’ उनले भने, ‘तीनै तहका निर्वाचनमा कांग्रेस एकढिक्का भएर जानुपर्ने र पार्टीमा बेमेल भए नेतृत्वले सम्बोधन गर्नुपर्छ ।’ 

अन्य केन्द्रीय सदस्यहरूले पनि पार्टीभित्र सबैको एकमत बनाएर अन्य दलसँग गठबन्धन गर्नुपर्ने धारणा राखेका छन् । उनले गठबन्धन सिद्धान्तको आधारमा नभएर आवश्यकताको आधारमा हुनुपर्ने बताएका छन् ।

उनीहरूले निर्वाचन घोषणापत्रमा संविधानले ग्यारेन्टी गरेको निःशुल्क स्वास्थ्य र शिक्षालाई समावेश गर्नुपर्ने बताएका छन् । साथै केन्द्रीय सदस्यहरूले कांग्रेसलाई जीवन्त र युवाको कांग्रेस बनाउनुपर्नेमा जोड दिएका छन् ।