अन्यायको चित्त

न्यायको दियोसामु
घुँडा टेकेको अपराध
अन्यायको राँकोबाट
अलिकति झिल्को सापटी लिएर
फेरि बौरियो ।
एकादेशको सडकमा
चारपाङ्ग्रा हालेर
एउटा अन्याय कुद्दै आयो
सडकबाट पोखिएर
फुटपाथ उक्लिएको अन्यायले
धागोजस्तो जीवन छिन्यो
छिन्दा लगाएको बलले
अन्यायको दम फुल्यो
दाम भएको दमवालासँगै
अपराध फुल्यो,
अत्याचार फल्यो
न्यायको गजुर ढल्यो
अन्यायको जीत देखेर
न्याय चित पर्यो ।
न्यायको खोल भिरेको
अन्यायको चित्त कस्तो हुन्छ ?
नोटमा हालेको सुइरोजस्तो हुन्छ
नोटभन्दा पर बस्नै सक्दैन
नोटभन्दा अन्त पस्नै सक्दैन ।
न्याय किन्ने चित्त
न्याय बेच्ने चित्त
चित्र कोर्न लायक हुन्छ ?
अंकैअंक मात्र हुन्छ
गन्नै नसकिने हुँदा,
भन्नै नसकिने हुँदा
चित्र बनाउन सकिँदैन
मित्र बनाउन सकिँदैन ।
प्रतिक्रिया