शुक्रबार २९ चैत, २०८१
Friday, April 11, 2025

लिलामी सिध्दान्तका लागि पाउल मिलग्रम र रोबर्ट विल्सनलाई अर्थशास्त्रमा नोबेल पुरस्कार

काठमाडौंः अमेरिकी अर्थशास्त्रीहरु पाउल मिलग्रम र रोबर्ट विल्सनले अर्थशास्त्रमा सन् २०२० को नोबेल पुरस्कार जितेका छन् । उनीहरुलाई लिलामी सिद्धान्तका आधारमा हुने खरिदले पुर्‍याएको सामाजिक लाभका लागि यो पुरस्कार प्रदान गरिएको हो । मिलग्रम र विल्सन दुवै क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकहरु हुन् । 

उनीहरु लिलामीले प्रभावकारी काम गर्न सक्ने आधारको सैद्धान्तिक आविष्कार गरेका थिए । उनीहरुले परम्परागत तरिकाले बिक्री गर्न कठिन हुने वस्तु र सेवाको लिलामी ढाँचा तयार गरेका छन् । विगतमा मूलतः सैद्धान्तिक आधारमा हेरिएपनि पछि त्यसको व्यवहारिक लाभ देखिएकाले यो समाजका लागि निकै लाभदायक भएको नोबेल पुरस्कार समितिका अध्यक्ष पिटर फ्रेडरिक्सनले उल्लेख गरेका छन् ।
 
यी दुई अर्थशास्त्रीहरुले विभिन्‍न अन्तरसम्बन्धित वस्तुहरुको लिलामीसम्बन्धी ढाँचा तयार गरेका छन् जसमा बिक्रेता सम्भाव्य उच्च नाफाभन्दा पनि समाजका लागि राम्रो गरौं भन्ने मान्यताले उत्प्रेरित भएको हुन्छ । सन् १९९० मा अमेरिकी फेडरल कम्युनिकेसन्स कमिसनले यो सिद्धान्तका आधारमा दूरसञ्‍चार र मिडिया कम्पनीहरुलाई रेडियो फ्रिक्‍वेन्सी वितरणका लागि प्रयोगमा ल्याएका थियो ।

त्यसभन्दा अघि उक्त निकायले इजाजत आवेदन र चिट्ठा प्रणालीमार्फत् रेडियो फ्रिक्वेन्सी वितरण गरेको थियो । तर पुरातन तरिकालाई प्रतिवाद गर्न यी दुई अर्थशास्त्रीको लिलामी ढाँचालाई अनुसरण गर्दा अनिश्‍चित मूल्य र विजेताको प्रभुत्व जस्ता समस्यालाई पन्छाउन सफल भएको थियो । रेडियो फ्रिक्वेन्सी लिलामीको नयाँ तरिकाले २० वर्षको समयमा अर्बौं डलरको बिक्री सम्भव तुल्याएको छ । राज्यले ठूलो लाभ लिनसक्ने यस्ता दुर्लभ स्रोतलाई बिना प्रतिस्पर्धा राजनीतिकर्मी र व्यापारीको साँठगाँठमा किनबेच हुनसक्ने क्रम यो सिद्धान्तको व्यवहारिक प्रयोग र लोकप्रियताका कारण भंग भएको छ ।

यो विधि बेलायत, भारत र क्यानडा लगायत देशमा रेडियो फ्रिक्‍वेसी ब्याण्ड लिलामीमा मात्र नभइ कार्बन उत्सर्जन भुक्तानीमा पनि प्रयोग गरिदैंछ । सम्भवतः लिलामी आफैंमा सबैभन्दा पुरानो बिक्री उपाय हो । सन् १९९६ मा अर्थशास्त्रका नोबेल पुरस्कार विजेता अर्थशास्त्री विलियम भिक्रीले लिलामी सिद्धान्तमा आधारभूत काम गरेका थिए । तर उनको अनुसन्धानले वर्तमान विश्‍वले व्यवहारिक रुपमा खोजीरहेको जटिल प्रकृतिका लिलामीहरुलाई विश्लेषण गर्ने औजारको विकास गर्न सकेको थिएन ।
 
सन् २०२० का नोबेल पुरस्कार बिजेता अर्थशास्त्रीहरुलाई लिलामी सम्बन्धि सिद्धान्तमा ‘सुधार’का लागि पुरस्कृत गरिएको भनिए पनि उनीहरुको यो अनुसन्धान केवल सुधारमा सीमित छैन । रेडियो फ्रिक्वेन्सी लिलामीमा प्रयोग भएको यो अनुसन्धानको व्यवहारिक सैद्धान्तिक आधार तयार भएको छ । राम्ररी डिजाइन गरीएको यो लिलामी प्रक्रियामा बोलकबोलमा उनीहरुले उक्त वस्तु/सेवाको अनुमानित मूल्यबारेको सत्य आफैंले उद्घाटित गर्नेछन् । एकै समयमा, लिलामीले अन्य प्रतिस्पर्धीहरुलाई पनि सूचना प्रवाह गर्छ र यसको मूल्य तय हुन्छ ।
 
रेडियो फ्रिक्‍वेन्सी लिलामीको मुख्य चुनौती भनेको त्यहाँ धेरैले एकसाथ मूल्य लगाउँछन् । उदाहरणका लागि ए नामक टिभी कम्पनीले ए ब्याण्ड प्रयोगको अधिकार चाहन्छ वा बी ब्याण्डको प्रयोगमा अधिकार चाहन्छ । ए र बी दुवै होइन । उदाहरणका लागि पूर्वी बेलायतमा प्रसारणको लागि अनुमति लिन पश्चिममा प्रसारणको अनुमति पाइसकेको बोलकबोलककर्ता पनि आउनसक्छ ।

यस्तो मिश्रित लिलामी डिजाइन गर्नु अत्यन्त चुनौतीपूर्ण हुन्छ । मिलग्रम र विल्सनले यो समस्यालाई समाधान गरे । यस्तो जटिल अवस्थामा कठोर सिद्धान्त प्रमाणित गर्नेमा मात्र अड्केर बस्‍न हुन्‍न । रेडियो फ्रिक्वेन्सी लिलामीको उत्साहको चरमोत्कर्ष नयाँ शताब्दीको शुरुवातमा थियो । धेरै युरोपेली देशरुले डट कम (इन्टरनेट) को उत्मादको उत्कर्षमा रेडियो फ्रिक्वेन्सी लिलामी गरे ।
 
तर लिलामी दुर्लभ स्रोतको विवतरणको निरन्तरतामा प्रयोग भयो, यद्यपि यिनीहरुलाई भविष्यमा प्रयोग गर्ने प्रशस्त ठाउँ छ । उदाहरणका लागि प्रमुख विमानस्थलहरुमा उडान गर्ने अधिकार, कार्बन उत्सर्जनको अधिकार, वातावरणसम्बन्धित कुन आयोजना आर्थिक सहुलियत प्राप्तिका लागि योग्य छ भन्‍ने छनौटको अधिकार अथवा बैंकिङ प्रणालीमा दबाब रहेका बेला केन्द्रिय बैंकबाट ऋण दिने निर्णयमा लिलामीको यो ढाँचा प्रयोग हुनसक्छ ।
 
रेडियो फ्रिक्‍वेन्सीको लिलामीले विश्‍वभर अरबौं डलरको कारोबार सिर्जना गरेको छ । यो अनुसन्धानले लिलामीमा सहभागी हुने सरकारलाई मात्र नभएर ठूलो सामाजिक लाभ सिर्जना गरेको छ । उदाहरणका लागि तपाईंले गुगलमा सर्च इन्जिन प्रयोग गर्दा त्यहाँ देखिने विज्ञापन पनि त्यस्तै जटिल लिलामी प्रक्रियामा सहभागी भएर आएको हो । लिलामीले इन्टरनेट चल्ने पूर्वाधारको विवतरणमा मद्दत पुर्‍यायो । अहिले तिनीहरुले हाम्रो ध्यान आकर्षित गर्न मद्दत गरिरहेका छन् ।