आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

मलेसियाले नेपाललाई दियो ११५ रनको सामान्य लक्ष्य

काठमाडौँ - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८  विकेट गुमाएर ११४ रन जोड्यो ।

मलेसियाका लागि जुबैदी जुल्कीफ्लेले १५ बलमा सर्वाधिक ३२ रन जोडे । उनले तीन चौका र दुई छक्का हिर्काए । कप्तान अहमद फैजले २४ रनको योगदान गरे । 

नेपाली बलरले मलेसियाविरुद्ध उत्कृष्ट बलिङ गरे ।

नेपालका लागि करण केसी र कप्तान सन्दीप लामिछानेले दुई–दुई विकेट हात पारे ।

कुशल मल्ल, अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

नेपालका ७ जना बलरले मलेसियाविरुद्ध बलिङ गरेका थिए ।

नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो ।