शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

भन्सार छली चोरी पैठारी गरी ल्याइएका मोबाइलसहित पक्राउ

काठमाडौं- भन्सार छली चोरी पैठारी गरी ल्याएका ३० थान मोबाइल सहित एक युवक पक्राउ परेका छन् । काठमाडौं नागार्जुन नगरपालिका-३ ईचंगुनारायणका २९ वर्षीय आशिक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हाे ।  

भारतबाट श्रेष्ठ समेतका व्यक्तिले मोबाइललगायतका अन्य सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले श्रेष्ठकाे पसलमा तलासी गरेकाे थियाे।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू हलचोकस्थित आशिक श्रेष्ठको एएस मोबाइल स्टोरमा तलासी गर्दा भन्सार चोरी पैठारी गरी ल्याईएका विभिन्न कम्पनीका मोबाइल फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।