मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

नेपालबाट ७२% निर्यात भारतमा

काठमाडौँः चालु आर्थिक वर्षको पहिलो आठ महिना (साउन–फागुन) मा नेपालको कुल निर्यातको ७२ प्रतिशत भारतमा निकासी भएको छ । नेपालको वैदेशिक व्यापारमा भारतसँग निर्भरता उच्च हुँदै आएपनि निकासीमा दुई तिहाईभन्दा धेरै निकासी भारततर्फ हुन थालेको छ । 

यस आर्थिक वर्षको फागुनसम्म नेपालले कुल ८० अर्ब ७७ करोडको निकासी गरेको छ । त्यो मध्ये ५८ अर्ब १९ करोड रुपैयाँको निकासी भारतमा भएको छ । भारतमा निर्यात हुने मुख्य वस्तुहरूमा सोयाबिन तेल, अलैंची, पोलिस्टर यार्न, जुट तथा जुस लगायतका वस्तु रहेका छन् । 

यी वस्तु नै नेपालका प्रमुख निकासी वस्तुका रूपमा रहेका छन् । नेपालले फागुनसम्म सोयाविनको तेलमात्रै २३ अर्ब १२ करोड रुपैयाँको निकासी गरेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । सोयाविन तेलको मात्रै कुल निकासीमा हिस्सा २८.६ प्रतिशत रहेको छ । 

एउटै मुलुकसँग र एकै वस्तुको व्यापारिक निर्भरता जोखिमपूर्ण हुने व्यापारविद् अर्थशास्त्री डा. पोषराज पाण्डेले बताए । ‘भारतमा नेपालको आयात र निर्यात दुवैतर्फ निर्भरता बढेको देखिन्छ । नेपालले निर्यात गन्तव्यहरूको खोजी गर्न नसकेको र तेश्रो मुलुका उत्पादन हुने वस्तुहरूो उत्पादन बढाउन नसकेको देखिन्छ,’ उनले भने, ‘आयाततर्फ भने डलरको अधिमूल्यनसँगै भारतबाट आयात गर्न सस्तो भएकाले आयातकर्ताले भारतबाटै आयत बढाएका हुन् ।’ 

आयातमा भने भारतबाट हुने व्यापारको हिस्सा कुल व्यापारमा ६५.९ प्रतिशत छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालले कुल ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँको आयात गरेकोमा भारतबाट मात्रै ६ खर्ब २२ अर्ब ३० करोड रुपैयाँको आयात गरेको छ । 

भारतबाहेक अन्य प्रमुख निकासी गन्तव्यहरू अमेरिकामा ८ अर्ब ७६ करोड, जर्मनीमा २ अर्ब २४ करोड, बेलायतमा १ अर्ब ७० करोड र फ्रान्समा ९३ करोड ३८ लाख रुपैयाँको वस्तु निकासी भएको छ ।