शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

ऊर्जा विकासबाट समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय संकल्पलाई पुरा गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ - राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छन् ।

आजदेखि भृकुटीमण्डपमा सुरु भएको 'हिमालयन हाइड्रो एक्स्पो २०२२' उद्घाटन गर्दै भण्डारी आयातित विजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको र यसको दीर्घकालीन समाधान भनेको हाम्रो आफ्नै उत्पादन हुनु रहेको बताइन् । भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाइन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण बन्ने विश्वास समेत व्यक्त गरेकी छन् ।

भण्डारीले भनिन् ‘हाम्रो मुलुकमा जलविद्युत उत्पादनका हाम्रो दशमा जलविद्युत उत्पादन र व्यापारका क्षेत्रमा विद्यमान अनेकौ संरचनागत चुनौतीको सामना गर्दै ऊर्जा व्यवसायीहरु संगठित र संस्थागत हुँदै जानु सन्तोषको विषय हो । हाम्रो मुलुक अथाह जलसम्पदाले सम्पन्न छ। विद्युतको आन्तरिक खपत गरी निर्यात गर्ने क्षमता समेत हामी राख्दछौं ।’  विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नु हाम्रो प्राथमिकता हो । एक शताब्दीअघि नै उत्पादन सुरु गरि नेपालले जलविद्युतका क्षेत्रमा सम्भावनाको ढोका खोलेको विषयमा प्रायः चर्चा हुँदै आएको छ ।’

हाम्रो राष्ट्रिय ऊर्जा आवश्यक्ता पूरा गर्ने उद्देश्य राखेर जलविद्युत विकासका लागि योजनावद्ध प्रयास हुन थालेकोसमेत आधा शताब्दी भइसकेको बताउँदै उनले भनिन्, ‘यी प्रयासहरु भएतापनि जनताको ठूलो संख्याले अझै बिजुली बाल्न पाएका छैनन् भने हाम्रा उद्योगहरुले आजपनि माग अनुसार विजुली प्राप्त गर्न सकिरहेका छैनन् ।’ भण्डारीले साना र मझौंला जलविद्युत आयोजनामा लगानी गरेर उज्यालो गाउँ बनाउने अभियानलाई तीब्रता दिन समेत निजी क्षेत्रलाई आग्रह गरिन् ।