सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

कर्णालीमा १० लाख बढी मतदाता

सुर्खेत – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशबाट झण्डै एक लाख मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनको तुलनामा यसपटक ९४ हजार दुई सय मतदाता थपिएका छन् ।

निर्वाचन आयोगका अनुसार वैशाख ३० मा हुने निर्वाचनमा कर्णालीमा दश लाख एक हजार दुई सय ८२ जना मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा प्रदेशमा नौ लाख सात हजार मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।

यसपटकको निर्वाचनमा कूल मतदातामध्ये पाँच लाख ६ हजार एक सय ८० जना पुरुष छन् भने महिला मतदाताको संख्या चार लाख ९५ हजार ९९ जना रहेको छ । निर्वाचनका लागि प्रदेशभर नौ सय सातवटा मतदान स्थल र एक हजार तीन सय ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

कर्णालीका दश जिल्लामध्ये सबैभन्दा धेरै मतदाता सुर्खेतमा रहेका छन् । दुई लाख ३८ हजार चार सय ५७ मतादाता भएको सुर्खेतमा पुरुष एक लाख १६ हजार तीन सय ३६ जना छन् भने महिला एक लाख २२ हजार एक सय २१ छन् । यसैगरी दैलेखमा एक लाख ५८ हजार चार सय ८९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

डोल्पामा २२ हजार चार सय ४० जना, मुगुमा ३५ हजार ८९ जना, जुम्लामा ६७ हजार सात सय ४४ जना र कालीकोटमा ८० हजार चार सय १६ जना रहेका छन् ।त्यसैगरी हुम्लामा ३२ हजार पाँच सय ७१ जना, जाजरकोटमा एक लाख तीन हजार आठ सय ६९ जना, रूकुम पश्चिममा एक लाख चार हजार चार सय ८२ र सल्यानमा एक लाख ५७ हजार सात सय १५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

वैशाख ३० गते एकसाथ देशभर निर्वाचन हुँदैछ । आयोगले त्यसका लागि आवश्यक तयारी तीव्र पारेको छ । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली सार्वजनिक भइसकेको निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।