शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

अस्करले तीन दिन भर्चुअल फिल्म फेस्टिभल गर्ने

नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनल (कलेज अफ फिल्म स्टडिज) ले भर्चुअल फिल्म फेस्टिभल गर्ने भएको छ । तीन दिनसम्म भर्चुअल प्लेटफर्ममा हुने फेस्टिभलमा फिल्म स्क्रिनिङ देखि देशी विदेशी फिल्मकर्मीसँग अन्तक्रिया हुने कलेजले जनाएको छ । निर्देशक तथा कलेजको प्रिन्सिपल विनोद पौडेलले महामारीका कारण सुस्त रहेको उद्योगलाई गतिशील बनाउने अभिप्रायले फिल्म फेस्टिभल गर्न लागेको जानकारी गराए ।

‘यो आत्म मूल्यांकनको समय हो । महामारीले हामीलाई हाम्रो विगत, वर्तमान र भविष्य सबै कुरालाई चिन्तन गर्ने समय दिएको छ र प्राज्ञिक बहसमार्फत् हामी हाम्रा शक्ति र कमजोरीका बारेमा कुरा गर्न सक्छौं भन्ने लागेर भर्चुअल फिल्म फेस्टिभलको अवधारणा ल्याएका हौं’ पौडेलले भने । यही हप्ताको शुक्रबारदेखि आइतबारसम्म चल्ने फेस्टिभलमा अस्कर कलेजकै विद्यार्थीले बनाएका ९ फिल्म प्रदर्शन हुनेछन् भने तीन दिनकै दौरानमा केही महत्वपूर्ण विषयमा अन्तक्रिया पनि हुनेछन् । 

कलेजका अनुसार पहिलो दिन शेखर खरेलले विनोद पौडेल र मनोजबाबु पन्तसँग फिल्म स्टडिजका आरोह अवरोहका बारेमा कुरा गर्नेछन् भने सोही दिनको दोस्रो सेसनमा आश्मा पोखरेलले महिला फिल्ममेकर दीपा बस्नेत, रजिता श्रेष्ठ, महिमा नवबाघ, शबनम मुखिया र इतुशा पोखरेलसँग अन्तक्रिया गर्नेछिन् । सो दिनको अन्तिम सेसनमा अंकित कोइराला, रिजन गजुरेल र राकेश भाजु  फिल्म देखाएपछि हुने छलफलमा सहभागी हुनेछन् । अन्तक्रियालाई केदार श्रेष्ठले सहजीकरण गर्नेछन् ।

दोस्रो दिनको पहिलो सेसनमा अरुण देव जोशीले , मीन भाम, सुजित बिडारी, निरञ्‍जनराज भेटवाल र अंकित पौडेलसँग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले दिलाउने अवसरका बारेमा कुरा गर्नेछन् भने यसपछिको सेसनमा शेखर खरेल फेरि एक पटक नेपाली फिल्म उद्योगमा काम गर्दाका चुनौती र अवसरको विषयमा स्वस्तिमा खड्का, रबिन्द्रसिंह बानियाँ, दीपेन्द्र के खनाल, प्रदीप भट्टराई र अनुप बरालसँग गफिनेछन् ।  

डेढ घन्टा चल्ने अर्को सेसनमा नबिन न्यौपानेले फिल्म ग्रयाजुएटको रुपमा फिल्म उद्योगमा काम गर्दा अनुभव खोतल्नेछन् । यो सेसनमा कबिर खड्का, मनिष राउत, महेश त्रिपाठी, मुकुन भुसाल र  अभय बरालले आफ्नो अनुभव सुनाउनेछन् । दोस्रो दिनको अन्तिम सेसन पहिलो दिनझै फिल्म देखाएर सकिनेछ । यो दिन अशुका अर्याल, मार्टिन भण्डारी र गणेशजंग रावल निर्देशित फिल्म देखाइनेछ भने प्रशन्‍न मालीले उनीहरुसँग अन्तक्रिया गर्नेछन् । आइतबारको दिन सुरुको समयमा विद्यार्थी लक्षित कार्यशाला पनि हुनेछ जसलाई निश्चल बस्नेत दयाहाङ राई, ऋचा शर्मा  र दीपकराज गिरीले सम्बोधन गर्नेछन् ।  अन्तिम दिनको पहिलो सेसनमा सेसनमा राजन कठेतले फिल्म अध्यय्नपछिका अवसरको बारेमा कुरा गर्नेछन् । यो सेसनमा शिशिर बिशंखे, दिकेश खड्गी, अंकित पौडेल र निगम भण्डारीले आफ्ना अनुभव साटासाट गर्नेछन् । 

दिनको दोस्रो सेसनमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले फिल्म सम्बन्धी नीति नियमको अवस्थाको बारेमा कुरा गर्नेछन् भने यसपछिको सेसनमा निर्देशक छिरिङ रितार शेर्पा विदेशी फिल्ममेकर गुयम मेगुट, मिचेल हेनरिक र इनग्रिड लिल हगटनसँग फिल्म को-प्रडक्सनको सम्भावनाको बारेमा छलफल गर्नेछन् । दिनको अन्तिम सेसन फिल्म देखाएर सकिनेछ । अन्तिम दिन राजकुमार राई, बिजेश महर्जन र निपिल शर्मा निर्देशित फिल्म देखाइनेछ भने फिल्म प्रदर्शनपछि उत्पल झाले उनीहरुसँग अन्तक्र्रिया गर्नेछन् । सबै छलफल तथा फिल्म कलेजको फेसबुक पेज तथा युट्युबमा लाइभ हेर्न सकिनेछ ।