आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

अमेरिकामा मतगणना विवाद : कसले गर्‍यो धाँधली ?

काठमाडौं : अमेरिकाको राष्ट्रपति निर्वाचनमा मतगणना विवादले उग्र रुप लिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेपछि थप विवाद निम्तिएको हो । पूर्व उपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहेपछि धाँधली भएको भन्दै यस्तो आरोप लगाएका हुन् ।

अमेरिकामा ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति ट्रम्पले अदालतबाट मागेको साहरा पनि पाएनन् । मतगणना तत्काल रोक्न माग गर्दै उनले संघीय अदालतमा दिएका उजुरीहरू अदालतले खारेज गरिदिएपछि समस्या झन् चर्कदै गएको छ । उनी सर्वोच्च अदालत जाने भनेका छन् ।

ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितताको आरोप लगाएका हुन । बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा थिए तर पछि मतगणना नै रोक्न माग गरे । ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिया राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिएका थिए । आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी अदालतले खारेज गरेको हो ।

जोर्जियामा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित मुद्दा दायर गरेका थिए । मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मत गन्तीको प्रकृयामा पहुँचको माग गरिएको थियो । राष्ट्रपति ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ । ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको आदेश दिए  । अदालतले उजुरी खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पलाई अर्को धक्का लागेको हो । राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले नेभाडाको मतदानमा पनि धाँधली भएको भन्दै उजुरी दर्ता गरेका थिए ।

शुक्रबार दर्ता गरिएको उजुरी ट्रम्पको तर्फबाट अन्य राज्यमा दर्ता गरिएको जस्तै रहेको समाचारमा जनाइएको छ । प्रमाण नदिइएको सो मु्द्दामा क्लार्क काउन्टीमा हुलाकमार्फत् आएका मतपत्र जाँचमा अनियमिता र तीन हजार भन्दा बढी फर्जी मतदान भएको दाबी गरिएको छ । अमेरिकामा अहिले मतगणना भइरहेका पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन् ।

पेन्सिल्भेनियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुई वटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ । ट्रम्पले जित्नका लागि भने पेन्सिल्भेनियासहित बाँकी चारमध्ये तीनवटा राज्यमा जित्नपर्ने हुन्छ । यसअघि ट्रम्पको अग्रता पेन्सिल्भेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जियामा पनि उस्तै स्थिति देखा परिरहेको छ ।