शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

विश्वकै ठुलो सेयर निष्काशनमा किन ‘ब्रेक’ लगाउँदैछ चीन ?

चिनियाँ अर्बपति ज्याक माले नेतृत्व गरेको एन्ट ग्रुपको ३७ अर्ब अमेरिकी डलरको प्राथमिक सेयर निष्काशसन (आइपीओ) मा चीन सरकारले ‘ब्रेक’ लगाएको छ । फाइनान्सियल टेक्नोलोजी जायन्ट एन्ट चिनियाँ पुँजीबजारमा सूचीकृत हुन लागेको अहिलेसम्मकै ठूलो आइपीओ थियो । आईपीओ सूचीकरणमा प्रतिबन्धले एन्टको विस्तारलाई रोकेको छ ।

सांघाई स्टक एक्स्चेन्जले आइपीओ निलम्बन गरेसँगै एन्टले हङकङमा बिहीबार एकसाथ सूचीकरण गर्ने योजना समेत स्थगित गरेको छ । चिनियाँ वित्तीय क्षेत्रका नियामकहरुले ज्याकमा र उनका प्रमुख पाँच कार्यकारीहरुसँगको बैठकमा एन्टको लाभदायक अनलाइन व्यवसायले कठोर निरिक्षणको सामना गर्नुपर्ने बताएका छन् ।

सांघाई स्टक एक्स्चेन्जले नियामकहरुसँग एन्टको बैठकलाई ‘महत्वपूर्ण घटना’ भनेको छ । कठोर नियामकीय वातावरणले एण्टलाई आईपीओ सूचीकरणबाट अयोग्य ठहर गर्न सक्छ ।

चीनमा विश्लेषकहरुले यो घटनाले ज्याक मालाई सरकारी कदमले झापड हानेको व्याख्या गरेका छन् । ज्याकमा एन्टलाई सघन रुपमा नियमन गरिने वित्तिय संस्थाभन्दा पनि एउटा टेक्नोलोजी कम्पनीको रुपमा व्यवहार गरियोस् भन्ने चाहान्थे ।

‘कम्युनिष्ट पार्टीले टाइकुनहरुलाई मालिक को हो भनेर देखाएका छन् । ज्याकमा संसारका धनी व्यक्ति पनि बन्न सक्थे तर त्यो महत्वपूर्ण कुरा थिएन । यो घटनाले शताब्दीकै महत्वपूर्ण ‘डिल’बाट शताब्दीकै ठूलो झट्काका बनेको छ,’ धितोपत्र कारोबार गर्ने कम्पनी जीईओ सेक्युरिटीज्का फ्रान्सिस लुनले भने ।

पुनः आइपीओ सूचीकरणको मान्यता लिन एन्टले सांघाइ एक्सचेन्जलाई आवश्यकता अनुसार कम्पनीको थप सूचना सार्वजनिकीकरणका लागि तयार रहेको जनाएको छ । स्टक एक्सचेन्जले नै नियामकसँगको यो विषयलाई टुंग्याउने अपेक्षा पनि ज्याक माको कम्पनीले गरेको छ । जानकारहरुका अनुसार यो प्रक्रिया निकै लामो हुनेछ ।

चिनियाँ नियामकहरु सहभागी भएको एउटा कार्यक्रममा गत महिना ज्याक माले वित्तिय तथा नियामकीय प्रणालीले नवप्रवर्तनलाई निमोठेको भन्दै आर्थिक विस्तारका लागि नियामकीय व्यवस्थाहरुमा सुधार हुनुपर्ने औंल्याएका थिए । उनले विश्वव्यापी बैंकिङ सुपरिवेक्षणमा क्रियाशील बासल कमिटीलाई ‘वृद्ध मानिसहरुको क्लब’ सँग तुलना गरेका थिए ।

यस्तो सार्वजनिक आलोचनाले ज्याकमालाई नियामकहरुको निशानामा पारेको एन्टको बुझाइ छ । एन्टको आइपीओ सूचीकरण निलम्बन विश्वभरका सेयर बजारहरुमा गुञ्जिएको छ । एन्टको एक तिहाइ स्वामित्व रहेको अलिबाबा होल्डिङ ग्रुपको सेयर अमेरिकामा ९ प्रतिशतले गिरावट आएको छ । एन्टले आइपीओ जारी गर्न योजना गरेकोभन्दा झण्डै दोब्बर अलिबाबा ग्रुप होल्डिङको सेयरमा गिरावट आएको छ ।

(रोयटर्सबाट)