नयाँ वर्ष २०७९ : राष्ट्रपतिदेखि सभामुखसम्मले दिए शुभकामना, कसले के भने ?

काठमाडौँ - आज विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छन् ।
नयाँ वर्षको सुरुआत भएको अवसरमा विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको उनको भनाइ छ ।
हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धनगरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने शुभकामना सन्देशमार्फत जोड दिइएको छ ।
विक्रम संवत् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम अभ्यास भएको हुनाले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरूप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी रहेको पनि राष्ट्रपति भण्डारीले बताएकी छन् ।
समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न प्रेरणा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले नववर्ष २०७९ ले समृद्ध नेपाल निर्माणमा एकाकार भएर लाग्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। नववर्षको सुरुआतका अवसरमा आज शुभकामना सन्देश प्रवाह गर्दै उनले संविधानको पूर्ण पालना, राजनीतिक स्थायित्व कायम तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ वर्षले उत्प्रेरित गर्ने बताए ।
विक्रम् संवत् २०७९ लाई निर्वाचन वर्षका रुपमा स्वागत गरिएको उल्लेख गर्दै उनले स्थानीय सरकार गठनका लागि वैशाख ३० गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण नेपालीलाई अपिल गरे । राष्ट्रको प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दिगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताउँदै उपराष्ट्रपति पुनले त्यस ध्यान केन्द्रित गर्न आग्रह गरे।
प्रधानमन्त्री देउवाबाट नयाँ वर्षको शुभकामना सन्देश
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ वर्ष २०७९ प्रारम्भ भएको सुखद अवसरमा शुभकामना व्यक्ति गरेका छन् । गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरे ।
मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वाेपरी लक्ष्य रहेको भन्दै उनले यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचार र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने शुभकामना सन्देशमा भनिएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै जनताको विकास र समृद्धि को आकाङ्क्षालाई यथाशीघ्र पूरा गर्ने अभियानमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
संवैधानिक मूल्यमान्यता आत्मसात् गर्न सकौँ : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले नववर्ष २०७९ साल प्रारम्भका अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले विक्रम संवत् २०७८ मा कैयौँ अप्ठ्यारा आए र तिनलाई हामीले सुझबुझपूर्ण ढङ्गले निकास दिँदै गएको उल्लेख गर्दै भविष्यका लागि आशावादी बनाएर २०७८ बिदा भएको बताएका छन् ।
विसं २०७९ चुनावी वर्ष रहेकाले आम नागरिकका लागि आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गर्ने एवं राजनीतिक दलका लागि आफ्ना नीति र नेतृत्वको परीक्षाको वर्ष बन्ने विश्वास पनि शुभकामना सन्देशमार्फत सभामुख सापकोटाले बताएका छन् । आगामी दिनमा संविधानको कार्यान्वयन, परिवर्तित व्यवस्थाअनुरुप नागरिकले अनुभूत गर्ने तहमा जीवनस्तर परिवर्तनको दिशामा मुलुकलाई अगाडि बढाउन दलका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुने उनले विश्वास व्यक्त गरेका छन् ।
लोकतन्त्रको उच्चतम अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न निरन्तर प्रयत्नरत रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा दिने विश्वास सभामुख सापकोटाको छ ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया