सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

नेताका वक्तव्यप्रति निर्वाचन आयुक्त असन्तुष्ट: भ्रम फैलाउनेलाई कारबाही गर्ने चेतावनी

मकवानपुर - निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न स्थानीय तहको निर्वाचन हुने/नहुने बारे भ्रम फैल्याउनेलाई कारबाही गरिने बताएका छन् । मुख्य राजनीति दलका नेतृत्वहरूबाटै निर्वाचन प्रक्रियामाथि आशंका फैलाउने अभिव्यक्तिप्रति आयुक्त भण्डारीले आक्रोश व्यक्त गरेका हुन् ।

मकवानपुरको हेटौंडामा शनिबार भएको एक कार्यक्रममा आयोगले सबै तयारी सकेको अवस्थामा अनावश्यक भ्रम फैलाउनेहरू प्रति आयोगको ध्यानाकर्षण भएको भण्डारीले बताए । 'हामीले राम्रोसँग नोट गरेका छौँ, हामी कारबाही जाने छौँ,' उनले भने, 'देश निर्वाचनमय भएको छ, यो निर्वाचन नभए हामी २० वर्षपछि धकेलिने छौँ ।'

आयोग कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा रहेको उनले बताए । 'निर्वाचन नभए लोकतान्त्रले हार्छ,' उनले भने, 'लोकतन्त्र बचाउनु हामी सबैको कर्तव्य हो ।'

भ्रम र आशंकले फैलाउने नेता आफै जनतासामू जान डराएको उनले बताए । निर्वाचन नभएको अवस्था नेतृत्वलाई पनि समस्या हुने बताउँदै उनले भने , 'चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो, यसको कदर गरौ ।' लोकतन्त्र जिवित राख्ने प्रक्रिया नै निर्वाचन भएकोले तोकिएको समय निर्वाचन हुनै पर्ने उनले बताए ।

'लोकतान्त्रिक कदममा आयोगको पवित्र नियतमा शंका नगरौ' उनले भने । आयुक्त भण्डारीले आयोगले मुलकाम सकेको उनले बताए । जनताले विश्वास गरेर आफ्नो मत दिने भनेको आफूमाथि शासनको अधिकार दिएको नभई आफ्नो समस्यामा सहजीकरण गर्न मत दिने भएकोले यसलाई सघाउन उनले सबैलाई आग्रह गरे ।

आयुक्त भण्डारेले सन्चारकर्मी पनि आचारसंहितामा बस्न आग्रह गरे । 'मिडिया पनि आयोगको हिस्सा हो, निर्वाचन विरुद्व हुने, अनावश्यक शंका उब्जने र निर्वाचन बिथोल्ने प्रयत्न नगरौ,' उनले भने ।

आयोगले आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रम बागमती प्रदेश, प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेल आयोगले सबै तयारी सकेको बताए । स्वतन्त्र र भयरहित निर्वाचन गर्न आयोग लागिपरेका पोखरेलले बताए ।