मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

‘विदेशी मुद्राको सञ्चिति मासेर विलासी गाडीको आयात बढाउन लागेको होइन’

काठमाडौँः अर्थ सचिव शिशिरकुमार ढुंगानाले अर्थ मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अन्तर्गत गत वर्ष कोभिड–१९ पछि प्रतिबन्धित गरिएका वस्तुको आयात खुलाउन पहल नगरेको बताएका छन् । राजस्व लक्ष्य पुर्‍याउनका लागि महँगा गाडीको आयात खुला गरेको भन्ने प्रचार सत्य नभएको उनले बताए । 

सरकारले गत वर्ष बन्दाबन्दीपछि २०७६ चैत २४ मा राजपत्रमा सूचना जारी गरी आयात प्रतिबन्धित गरेका केराऊ, मरिच, सुपारी, छोकडा तथा ५० हजार अमेरिकी डलरमाथिका सवारी साधनको आयात खुला गर्ने गरी सोमबार सरकारले पुनः राजपत्रमा सूचना प्रकाशन गरेको थियो । 

‘गत वर्ष अलिक जटिल अवस्थामा सरकारले केही वस्तुहरूको आयात प्रतिबन्धित गरेको थियो,’ ढुंगानाले भने, ‘ठूलो परिमाणमा औषधी तथा स्वास्थ्य सामग्री आयात गर्नुपर्ने आँकलन भएकाले निश्चय नै विदेशी मुद्रा सञ्चितिमा चाप पर्ला कि भन्ने पनि  थियो ।’ 

उनले जुन उद्देश्यले आयात प्रतिबन्धित गरिएको थियो, त्यो सन्दर्भ अहिले नरहेको बताए । ‘हामीलाई खोप किन्न केही स्रोत चाहिन्छ, तर हामी त्यो जोहो गर्न सक्छौं ।’ 
ढुंगानाले सवारी साधनको न्यून विजकीकरण तथा केराऊ लगायत वस्तुको बजारमा अभाव भएकाले पनि सहज अवस्थामा पनि प्रतिबन्धात्मक व्यवस्था कायम राख्नु उचित नभएको बताए । 

‘हामी ५० हजार डलर माथिका सवारी साधन आयात रोक्यौं, न्यून बिजकीकरण भएर सवारी साधन आउने जोखिम भयो,’ उनले भने, ‘हामीले आयात प्रोत्साहीत गरेर राजस्व बढाउने ध्येय राखेको होइन ।’