मेयर बन्न सांसददेखि मन्त्रीहरूको राजीनामा

जनकपुरधाम– नगरपालिकाको मेयर बन्न मधेश प्रदेशका मन्त्रीदेखि प्रदेश सांसदहरुले राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार बन्न प्रदेश सांसद शेखअब्दूल कलाम आजादले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
तत्कालीन समाजवादी पार्टी रौतहट ४ (२) बाट प्रदेश सभा सदस्य बनेका आजादले रौतहटको गढीमाई नगरपालिकामा मेयर पदको जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिन राजीनामा दिएका हुन् । शुक्रवार प्रदेश सभाको प्रशासन शाखा प्रमुख जानकी शरण साहलाई आफ्नो राजीनामा पत्र बुझाएका छन् ।
इकागजसँग कुरा गर्दै आजादले भने ‘पार्टीले उम्मेदवारी दिनैपर्छ दबाव दिएको कारण आफूले कार्यकाल छदैं राजीनामा दिएको हुँ ।’ उम्मेदवारीपछि निर्वाचनको तयारीमा लाग्नेछु उनले बताए ।
यता प्रदेश सरकारका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र प्रदेश सभा सदस्य परमेश्वर साह समेतले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारीमा रहेका छन् ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट सिरहा नगरपालिकाको नगरप्रमुखमा उनको एकल नाम सिफारिस भएपछि चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिने प्रक्रियामा रहेको मन्त्री यादवले बताए । उनले पनि पार्टीको दबाव र मतदाताको चाहना अनुरुप आफूले मेयर पदमा चुनाव लड्न बाध्य भएर राजीनामा दिन लागेको प्रतिक्रिया दिए ।
सिरहा नगरपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र गठबन्धन गर्न तयार गर्न लागेका छन् । मेयर समाजवादीलाई उपमेयर माओवादीलाई दिने आन्तरिक सहमति रहेको बताइएको छ ।
मन्त्री यादव २०७४ सालको नेकपा एमालेबाट सिरहा क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । एमाले विभाजन भएपछि उनी माधव नेपाल नेतृत्वको समाजवादीमा गएका थिए । गत मंसिर ५ गते मधेस प्रदेश सरकारको कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको जिम्मेवारी पार्टीले उनलाई दिएको थियो ।
यसैबीच जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टीबाट चुनाव लड्न प्रदेश सभा सदस्य परमेश्वर साहले समेत राजीनामा दिन लागेका छन् । उनले पार्टीको निर्देशन र कार्यकर्ता तथा मतदाताको स्नेहमा आफूले प्रदेश सभा सदस्यबाट राजीनामा दिन लागेको बताए ।
लोसपाबाट उपमहानगरपालिकाका लागि प्रदेश सभा सदस्य साहसहित अमर पजियार, संजय चौधरी, मनोज चौधरी र जानकीराम साहको मेयर पदमा नगरबाट सिफारिस भएको थियो । जानकीराम साह एमालेमा प्रवेश गरिसकेपछि अन्य आकांक्षीहरु पनि टिकटका लागि हानाथाप गरेपनि केन्द्रिय समितिले साहलाई नै उम्मेदवार बनाउने तयारीमा छ ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया