आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सेनाको भान्सामा बिजुली प्रयोग गर्न ऊर्जा मन्त्रीको प्रधान सेनापतिलाई आग्रह

काठमाडौ– मुलुकमा स्वदेशी बिजुली उत्पादनले आपूर्ति धान्न नसकी भारतबाट आयात गर्नुपरिरहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाली सेनाको भान्सामा बिजुली प्रयोग गर्न आग्रह गरेकी छिन् ।

प्रधान सेनापति प्रभुराम शर्मासँग आज मन्त्री भुसालले भेटवार्ता गर्दै विद्युत् खपत प्रवद्र्धनका लागि सहयोग गर्न सेनालाई आग्रह गरिन् ।

सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘अब नेपाली सेनाका भान्सामा जलविद्युत नै प्रयोग गरौँ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।’

भुसालले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्ने गरी निर्णय लिन पनि आग्रह गरिन् । आफूले निरन्तर विद्युत खपत र निर्यातलाई जोड दिइरहेकोे उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘विद्युत खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो । विद्युत खपत हुँदा हाम्रो पुँजि बाहिर जाँदैन ।” 

नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै भुसालले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगादन रहने विश्वास व्यक्त गरिन् । 

भेटमा प्रधान सेनापति शर्माले नेपाली सेनाको भान्सा विद्युतिकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए । ‘हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न शुरु गरेका छौँ, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौँ,’ सेनापति शर्माको भनाइ उद्धृत गर्दै मन्त्री भुसालको सचिवालयले भनेको छ, ‘महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न शुरु गरिसकेको जानकारी दिए। 

प्रधान सेनापति शर्माले आफूले विद्युतीय गाडी नै चढ्ने गरेको मन्त्री भुसाललाई अवगत गराएका थिए । सेनाले आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेमा शर्माले विश्वस्त तुल्याएको सचिवालयले जनाएको छ । वातावरण संरक्षण र देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि विद्युत खपत बढाउनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै शर्माले नीतिगत रूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्युत विकासमा पनि लगानी गर्न सक्ने बताए । शर्माले जलविद्युत परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने विश्वास दिलाए । 

छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थित थिए । यस अघि ऊर्जा मन्त्री भुसालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत खपतका विषयमा विभिन्न चरणमा छलफल गरेकी थिइन् । मन्त्री भुसालले ठूला होटलका साथै रेष्टुराँमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्दै आएको सचिवालयले जनाएको छ ।