शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

वाग्मती सरकारको बजेट खर्च निरासाजनक

हेटौंडा : वाग्मती प्रदेश सरकारले एक आर्थिक वर्षको लागि छुट्टाएको बजेट पूरा  खर्च गर्न सकेको देखिएको छ । वाग्मती सरकार गठन भएपछि प्रदेशले हालसम्म चार पटक बजेट ल्याए पनि पूरा बजेट खर्च भने गर्न नसकेको तथ्यांकले देखाएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को फागनु मसान्तसम्म २५.३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालू वर्षमा ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट ल्याए पनि ८ महिनामा १३ अर्ब ३ करोड ५१ लाख रुपैयाँ मात्रै खर्च भएको हो । यद्यपि अबको ४ महिनामा असारे विकास बजेटमा खर्च आश्चर्यजनक तरिकाले बढ्ने अनुमान देखिन्छ ।  

प्रदेश लेखा नियन्त्रक कार्यालय वाग्मती प्रदेशका लेखा अधिकृत राजेन्द्र पाण्डेकाअनुसार वाग्मती प्रदेशले चालू आर्थिक वर्ष २०७४/७५ मा कुल बजेटको २६.४१ प्रतिशत बजेट खर्च गरेको थियो । 

१ अर्ब २ करोडको बजेट ल्याएको वाग्मती प्रदेश सरकारले २६ करोड ९४ लाख मात्रै खर्च गरेको थियो । यसैगरी आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारको खर्च केही बढेको देखिन्छ । ६० प्रतिशत बजेट आर्थिक वर्ष २०७५/७६ मा खर्च भएको लेखा अधिकृत पाण्डेले बताए ।

आर्थिक वर्ष २०७६/७७ को कूल बजेट ४७ अर्ब ३० करोडमध्ये २७ करोड ९५ लाख खर्च भएको थियो । बजेटको ५९.०८ प्रतिशत प्रदेश सरकारले खर्च गरेको थियो । 
वाग्मती प्रदेश सरकारले बितेको तीन वर्षमा कूल ८२ अर्ब ३५ करोड ४५ लाखको बजेट ल्याए पनि पूरा बजेट भने खर्च गर्न सकेको छैन । आर्थिक वर्ष २०७४/७५ देखि आव ७६/७७ सम्म वाग्मती प्रदेश सरकारले कुल बजेटको ५९.३४ प्रतिशत मात्रै खर्च गरेको छ ।