मर्स्याङ्दी करिडोरका सबस्टेसनहरू धमाधम निर्माण हुँदै
१६०० मेगावाट बिजुली बोक्ने

काठमाडौं - करिब एक हजार ६ सय मेगावाट बिजुली बोक्ने मर्स्याङ्दी २२० केभी प्रसारण लाइनअन्तर्गतका सबस्टेशनको निर्माण कार्य धमाधम भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यो प्रसारण लाइनअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धारापानीमा २२० केभीका सबस्टेशन एकसाथ निर्माण भइरहेको हो । नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ ।
खुदी सबस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसनको निर्माण सुरु भएको छ । भौगोलिक रुपमा विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसनको निर्माणमा केही समय लाग्ने छ ।
नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहने छन् । दुवै सबस्टेसनहरूका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरणहरूको जडान भइरहेको छ ।
खुदी र धारापानी सबस्टेसनमा क्रमश: २२०/१३२ केभी,१६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहने छन् । खुदी सबस्टेसनको मुख्य सिभिल संरचनाहरू निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन निर्माणमा भइरहेको प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिका लगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग विस्तृत छलफल गरी जानकारी लिएको प्राधिकरणले जनाएको छ ।
घिसिङले मर्स्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि प्रसारण लाइन तथा सबस्टेसन महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे ।
उनले वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृतिको प्रक्रिया तत्काल अगाडि बढाउन र सामाजिक समस्याहरूलाई समाधान गरी प्रसारण लाइनको निर्माण सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए । यसका लागि माथिल्लो तहमा आवश्यक पहल र समन्वय गर्न आफू तयार रहेको पनि घिसिङले विश्वस्त पारे ।
लमजुङको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत आयोजनाहरूको विद्युत दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने छ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दी खोलाका आयोजनाहरूको विद्युत वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोडिने छ ।
लमजुङकै ङादी तथा त्यसका सहायक खोलाहरूमा निर्माणाधीन जलविद्युत आयोजनाहरूको विद्युत खुदी सबस्टेसनमा जोडिने छ । मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ ।
आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ ।
नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया