कांग्रेस २१ केन्द्रीय सदस्यलाई कोभिड-१९, ११ जनाले जितिसके

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासहित २१ केन्द्रीय सदस्यलाई कोभिड–१९ को संक्रमणमा परे । तीमध्ये ११ जना संक्रमण मुक्त भइसकेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले १० केन्द्रीय सदस्यमा कोभिड–१९ को संक्रमण रहेको र ११ जना संक्रमण मुक्त भइसकेको जानकारी दिए ।
सोमबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक अगाडी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्यहरू र उनीहरूका सहयोगीहरूको पीसीआर परीक्षण गरेको थियो । २० कात्तिकमा गरिएको परीक्षणको रिपोर्ट आउँदा दीलेन्द्रप्रसाद बडू, श्याम घिमिरे, मो नसिर सिद्दिकी, किरण यादव, सुरेन्द्र पाण्डे, सुजाता परियार र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई गरी ७ जनालाई संक्रमण देखिएको सचिव केसीले बताए ।
त्यो भन्दा अगाडी गराएको परीक्षणमा केन्द्रीय सदस्यहरू फरमुल्लाह मन्सुर, शिवप्रसाद हुमागाई र मीन विश्वकर्मामा संक्रमण देखिएको हो । कात्तिक १ गते संक्रमण देखिएका विश्वकर्मालाई निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि ग्राण्डी इन्टरनेशनल अस्पतालमा भेन्टीलेटरमा उपचार गराइरहेका छन् ।
कांग्रेसले गत असोज १९ मा केन्द्रीय कार्यासमिति बैठक बोलाउदा बैठकमा सहभागी हुने नेताहरु र उनीहरूका सहयोगीको केन्द्रीय कार्यालयमा असोज १५ गते पीसीआर परीक्षण गरेको थियो । त्यो बेला पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य गगन थापा, गीता चौधरी, कल्पना चौधरी, जंगीलाल राय र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठमा संक्रमण देखिएको थियो । उनीहरू सबै संक्रमण मुक्त भएका छन् । केन्द्रीय सदस्य र उनीहरुका सहयोगी दुई दर्जन बढिमा संक्रमण देखिएपछि १९ गतेको बैठक २४ असोजसम्म सारिएको थियो ।
त्यही बेला बाहिर परीक्षण गराएका महामन्त्री डा. कोइराला, केन्द्रीय सदस्यहरु महालक्ष्मी उपाध्याय ‘डिना’, जीवनबहादुर शाही, रमेश रिजाल, अजयकुमार चौरसियामा पनि कोभिडको संक्रमण देखिएको थियो । उनीहरूपनि संक्रमण मुक्त भइसकेका छन् ।
असोज २४ गते बोलाइएको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरियो । फेरी सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि बोलाएका थिए । पदाधिकारी र शीर्ष नेताहरूबीच पार्टीको १४ औं महाधिवेशनको मिति कति समय सार्ने भन्ने विषयमा मतैक्यता नभएपछि पुनः सोमबारसम्मका लागि सारिएको छ । केही नेताहरूलाई कोभिड संक्रमण देखिएपनि यो पटक भने बैठकको मिति नसर्ने केन्द्रीय कार्यालयका सचिव केसीले जानकारी दिए ।

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ

राजावादीहरुको आन्दोलनमाथि सरकारले प्रतिवन्ध लगाउन सक्छः सञ्चारमन्त्री गुरुङ

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक (सूचीसहित)

मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

संसदीय समितिमा बिनियोजन विधेयकमाथि छलफल हुने

प्रतिक्रिया