सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

अर्थतन्त्रमा आयातमुखी लत छ, ‘करेक्सन’ गर्ने बजेट चाहिन्छ

मूलतः अहिले हामी कोभिड–१९ महामारी बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान तथा बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिमाथि दबाब परेको सन्दर्भमा बजेट निर्माण गर्दैछौं । यसका साथै आगामी आर्थिक वर्षमा निर्वाचन सम्पन्न गर्नुपर्ने अनिवार्य दायित्व पनि छ ।

कोभिड महामारी धेरै हदसम्म नियन्त्रणमा आएको छ र व्यावसायिक क्रियाकलाप वृद्धि भई चालु आर्थिक वर्षमा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ । यो उत्साहजनक छ । 

एकातिर हामी आयातमा आधारित अर्थतन्त्र हुनुका नाताले हाम्रो राजस्व, रोजगारी, व्यवसायिक क्रियाकलाप धेरैजसो आयातमा आधारित छन् । तसर्थ, यसमा सन्तुलन गर्नुपर्ने चुनौती हाम्रो सामु छ । यद्यपि, यो समस्या अल्पकालीन भएपनि औद्योगिक कच्चा वस्तुका साथै आयातमा आधारित विभिन्न व्यवसायिक क्रियाकलापबाट राजस्व सिर्जना तथा रोजगारीको अवस्थालाई समेत ख्याल गर्नुपर्नेछ । 

यो पृष्ठभूमिमा बजेट निर्माण गर्दा बजेट विनियोजनको दक्षता निर्माण गर्न कार्यान्वयनयोग्य आयोजना र कार्यक्रममा आवश्यकता अनुसार बजेट विनियोजन गर्ने र कार्यान्वयन निकायलाई जवाफदेही बनाउनुपर्छ । आगामी आर्थिक वर्षमा निर्वाचनका कारण, निर्वाचन आचारसंहितले कतिपय आयोजना, कार्यक्रम संशोधन, रकमान्तरमा समस्या पर्ने भएकाले पहिले नै बजेटलाई बढी यथार्थपरक विनियोजन गरिकन जानुपर्छ । 

हाम्रो बजारमा सरकार ठूलो खरिदकर्ता (प्रोक्योरर) भएको कारणले गर्दा निर्माण कार्यमा प्रयोग हुने सामग्रीदेखि सार्वजनिक सेवा प्रवाहमा आवश्यक वस्तु र सेवाको बिक्री बजेट कार्यान्वयनमा धेरै हदसम्म निर्भर गर्दछ । आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रका क्रियाकलापलाई गति दिन बजेट कार्यान्वयन अपरिहार्य छ । 

बजेट कार्यान्वयनका लागि कार्यान्वयन निकाय र निर्माण कम्पनीको जवाफदेहीता बढाउने, तिनलाई सहजीकरण गर्ने नीतिगत व्यवस्था गर्नु उपयुक्त हुने देख्छु । 

उच्च व्यापारघाटालाई सम्बोधन गर्ने भनेको मल्टि डिसिप्लीनरी (बहुविधागत) विषय हो । मुलुकमा उत्पादन बढाउनुपर्छ, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्छ भनेर त हामी भन्छौं । त्यसकारण, केही खास–खास वस्तुमा क्रमशः त्यस्तो आत्मनिर्भरता निर्माण गर्न सकिन्छ, निर्यात गर्न सकिन्छ । आगामी आर्थिक वर्षमा पाँच ओटा वस्तुमा आत्मनिर्भर हुने, तीन–चार वस्तुको निर्यात दोब्बर–तेब्बर गर्ने भनेर विशिष्ट ढंगले काम गर्नेगरी बजेटले सम्बोधन गरोस् । 

विद्युत् उत्पादन वृद्धिसँगै हामीले उर्जा सुरक्षा को प्रत्याभूत गर्न सक्ने भएका छौं । उर्जा सुरक्षा जस्तै खाद्य सुरक्षा, रोजगारीको सुरक्षा, लैंगिक सुरक्षा लगायतलाई बजेटमा समावेश गरेर काम गर्नुपर्छ ।

नेपाली अर्थतन्त्रमा न्यून उत्पादकत्व, उच्च मूल्य वृद्धि तथा उच्च व्यापारघाटाको अवस्थालाई परिवर्तन गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्छ । उद्योग तथा म्यानुफ्याक्चरिङ क्षेत्रको अर्थतन्त्रमा योगदान १३.७ प्रतिशत छ । यसलाई सन् २०३० सम्म कम्तीमा पनि २५ प्रतिशत बनाउने हिसाबले बजेटले उद्योग तथा म्यानुफ्याक्चरिङमा लगानी आकर्षण गर्ने, लगानी सहजीकरण र संरक्षणको प्रत्याभूति दिनुपर्छ । कृषिको व्यवसायिकरण गर्दै निर्यात समेत बढाउने हिसाबले जानुपर्छ । 

अहिले अर्थतन्त्रमा कृषिको २४.५ प्रतिशत योगदान छ, श्रमशक्ति धेरै आश्रित भएपनि उत्पादकत्व कम छ । कृषिको व्यवसायिककरणका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने करार खेती प्रणाली, कृषि प्रशोधन उद्योगमा केही वर्ष आयकर छुट लगायतका व्यवस्था गर्न सकिन्छ । 

हामीसँग हुने उर्जाको लाभ, अर्ग्यानिक उत्पादन तथा उच्च मूल्यका कृषि वस्तु फलफूल तरकारी आदिको सम्भावनाको लाभ, त्यस्तै सूचना तथा सञ्चार प्रविधिलाई परिचालन (लेभरेज) गरी लाभ लिने दिशमा बजेट केन्द्रित होस् । 

खासगरी राजस्वको क्षेत्रमा यसका दायरा विस्तार गर्ने तर केही आयात निरुत्साहीत गर्नुपर्ने वस्तुमा बाहेक दर बढाउनेतर्फ जानुहुँदैन । आयात निरुत्साहनका लागि दर बढाउनेतर्फ हामी जाँदा त्यो वस्तुको सिंगो चक्र, त्यसको सम्पूर्ण प्रयोगलाई हेरेर सोची–विचारीकन मात्र दर बढाउनुपर्छ । 

उत्पादनमूलक क्षेत्रलाई करमा पनि केही प्रोत्साहन (इन्सेन्टिभ) दिन सकिन्छ । यसरी इन्सेन्टिभ दिदाँ त्यो ट्याक्स एक्सपेन्डिचर हुन्छ । ट्याक्स एक्सपेन्डिचर सम्बन्धी, करका दर हेरफेर र त्यसको औचित्य सम्बन्धि छुट्टै दस्तावेज तयार गरी संसदलाई र आम सर्वसाधरणलाई जानकारी दिनुपर्छ । त्यसले अनावश्यक सेन्सेटाइज गर्ने र आलोचना गर्ने स्वर मत्थर बनाउँछ । 

अन्त्यमा, माननीय अर्थमन्त्रीलाई व्यवहारिक र कार्यान्वयनयोग्य बजेट निर्माणमा सफलता मिलोस्  भन्दै शुभकामना दिन चाहान्छु । 
(पूर्वअर्थमन्त्री रहेका हालका सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीद्वारा अर्थ मन्त्रालयले पूर्वअर्थमन्त्रीसँग मागेकाे बजेट सुझावमा व्यक्त मन्तव्य)