सिद्धबाबा सुरुङमार्ग योजना फेरि अलपत्र
पहाड काट्ने प्रदेश सरकारको प्रस्ताव
बुटवल : मृत्युमार्गका नामले परिचित बुटवल-तानसेन सडकखण्डको सिद्धबाबामा बनाईने भनिएको सुरुङमार्ग अलपत्र परेको छ । लामो समयदेखि सरकारले सुरुङ निमार्ण गर्ने भन्दै बजेट विनियोजन गर्दै आएको थियो । पटक पटक सरकारले सुरुङमार्ग आयोजनाको पूर्वसम्भाव्यता अध्ययन (प्रि–फिजिविलिटी) र डिपिआर निमार्णको काम अघि बढाएको थियो ।
केहि समय अघि मात्र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडिसी)ले सुरुङमार्ग आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । यस्ता अध्ययनका कतिपय रिर्पोटहरु नै सार्वजनिक गरिएको छैन ।
चालु आर्थिक वर्षमा सुरुङमार्गको लागि १० अर्ब रुपैया अर्थ मन्त्रालयले छुट्याएको थियो । ठेक्का प्रक्रियाको लागि सडक विभाग अन्तर्गतको गुणस्तर अनुसान्धान तथा विकास केन्द्रले कागजात पनि तयार पारेको थियो । कागजात सहितको फाइल अहिले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)मा अड्किएको छ ।
सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पुर्व मन्त्री सोम प्रसाद पाण्डे सुरुङमार्ग बनाउनुपर्ने पक्षमा छन् । तर प्रदेश सरकारले फरक प्रस्ताव राखेपछि सुरुङ सपना अलपत्र परेको हो ।
प्रदेश सरकारको फरक प्रस्ताव
लुम्बिनी प्रदेश सरकारले निर्माण समाग्री निकाल्न र पहिरोको समस्या समाधान गर्न सिद्धबाबा क्षेत्रको पहाड काट्ने प्रस्ताव संघीय सरकारसमक्ष पेश गरेको छ । अर्थ मन्त्रालयको समेत लगानीबाट सञ्चालन गर्न सकिने आयोजना पेश गर्न प्रदेश र स्थानिय तहहरुलाई आग्रह गरिएको थियो । जस अनुसार लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा क्षेत्रको पहाड काटेर सडक फराकिलो बनाउने प्रस्ताव पेश गरेको हो ।
यस योजनालाई ‘सिद्धबाबा कृतिम पठार परियोजना’ नाम दिइएको छ । परियोजनाको लागि पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको लुम्बिनी प्रदेशका प्रदेश योजना आयोगका सदस्य डा. विष्णु गौतमले जानकारी दिए । उनले विभिन्न सिद्धबाबा क्षेत्रबाट निस्केका ढुंगा माटोलाई विकासका कार्यमा उपयोग गर्न सकिने बताए । उनले पहाड काटेर निस्केको जग्गामा आइटी पार्क, होटल लगायत पूर्वाधार पनि बन्न सक्ने उल्लेख गरे ।
पहिरोको समस्या नहुने गरी चुरेबाट माटो र ढुंगा निकाल्न सकिने प्रदेश सरकारको प्रस्तावमा उल्लेख छ । यसरी पहाड काट्दा त्यहाँबाट एक खर्ब रुपैया बराबरको ढुंगा गिट्टी निकाल्न सकिने डा. गौतमको भनाइ छ ।
‘झण्डै एक खर्ब बराबरको निर्माण सामाग्री निकाल्न सकिन्छ’ उनले भने । यसरी चुरेको पहाड काट्न १० वर्षको समय लाग्ने अध्ययनले जनाएको छ । सिद्धबाबा कृतिम पठार परियोजनालाई अघि बढाउने हो भने सुरुङ मार्ग आवश्यक नपर्ने प्रदेश योजना आयोगका सदस्य डा. गौतमको भनाइ छ ।
‘हाम्रो परिकल्पना साकार भयो भने सिद्धबाबा क्षेत्रमा सडकको लागि सुरुङ मार्ग अवश्यक पर्दैन’, उनले भने ‘सुरुङ मार्ग बन्ने नै भएपनि हामीले प्रस्ताव गरेको परियोजनाले कुनै असर गर्दैन । सुरुङ मार्गको लागि ठाउँ छोडेर डिजाइन गरेका छौ ।’
एकपछि अर्को योजना
ठुलो मानवीय क्षति हुने सिद्धवावा सडक खण्डका विषयमा पटक पटक फरक फरक योजना बन्ने गरेका छन् । कहिले ‘रकनेट’ त कहिले सुरुङमार्गको सपना बाडिएको छ । त्यतिमात्र होईन, बैकल्पिक सडक मार्गको चर्चा पनि उत्तिकै हुने गरेको छ । रुपन्देहीको चरङगे-बसन्तपुर-झुम्सा सडकको बैकल्पिक योजना अघि बढेको छ । जसको ट्रयाक खोलिए पनि अरु योजना अघि बढ्न सकेको छैन ।
रकनेटका लागि काठमाडौको एक कम्पनीले दुई वर्षसम्म केहि संरचना निमार्ण गरेर पहिरो रोक्ने परिक्षण पनि गरेको थियो । अहिले प्रदेश सरकारले सडक काट्ने योजना प्रस्तावका रुपमा अघि बढाएको हो । रुपन्देही र पाल्पा लगायतका जिल्लामा मुख्य चुनावी नारा बन्ने गरेको सिद्धबाबा सडक कहिले सुरक्षित मार्ग बन्छ ? भन्ने आम नागरिकको प्रश्न छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया