‘बेनीको बजार’का सर्जक श्रेष्ठको निधन
बेनी : म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो ।
‘बेनीको बजार,जता मायाँ उतै छ नजर..’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो । श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेर समेत चिनिन्छ ।
लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गरिरहेका थिए । उनको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन् । मिर्गौलासम्बन्धी समस्या झेलिँरहदासमेत श्रेष्ठ साङ्गीतिक क्षेत्रसँग नजिक थिए । तबला, हार्मोनियम लगायतका थुप्रै बाजा बजाउन जानेका श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम थिए ।
२०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार,जता मायाँ उतै छ नजर..’ बोलको गीत गाएका थिए । सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बताए । त्यसपछि सो गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया