बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो मोदीको लुम्बिनी भ्रमण तालिका

फाइल तस्बिर

काठमाडौँ– परराष्ट्र मन्त्रालयले नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भ्रमण तालिका सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री मोदी नेपाली समकक्षी शेरबहादुर देउवाको निमन्त्रणामा जेठ २ गते बुद्ध जयन्तीको दिन सिधै लुम्बिनी आउनेछन् । 

उनी भारतीय सीमावर्ती सहरबाट हेलिकप्टरमा लुम्बिनी उत्रने बताइएको छ । लुम्बिनी ओर्लेलगत्तै मोदीलाई परराष्ट्रमन्त्री नारायण खड्काले स्वागत गर्नेछन् ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा आयोजित प्रार्थना सभामा भाग लिनेछन् । उनीहरूले गुम्बा क्षेत्रमा बौद्ध सांस्कृतिक तथा सम्पदाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । त्यसपछि दुवै प्रधानमन्त्री लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा गृहमा आयोजित बुद्ध जयन्ती समारोहमा सरिक हुनेछन् ।

दुवै प्रधानमन्त्रीबीच लुम्बिनीमा द्विपक्षीय छलफल, नेपाल–भारत सहयोग सम्बन्धी समझदारीको आदान–प्रदान र आपसी चासोका विषयमा कुराकानी हुनेछ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो समाजिक–सांस्कृतिक सम्बन्ध थप मजबुत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको यो पाँचौ नेपाल भ्रमण हो ।