महासंघभित्र राजनीति धेरै भयो भन्नेले आफैं राजनीति गरिरहने ?

सुरज वैद्यको कार्यकालपछि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका दावेदार निस्किए – तत्कालीन वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णीकार र उपाध्यक्ष प्रदीपजङ्ग पाण्डे । २०७० सालको चैतमा भएको चुनावी साधरणसभाबाट पाण्डे निर्वाचित भए । वैद्यको नैतिक समर्थन भाष्करलाई थियो । सार्क उद्योग वाणिज्य संघमा नेतृत्व गर्ने नेपालको पालो आउँदै थियो र भाष्कर नेतृत्वमा आए वैद्यलाई सिफारिश गर्ने सहमति थियो ।
वैद्य आफैं नेतृत्वकर्ता भएकाले धेरै खुलेर त लागेनन् तर भाष्करलाई जिताउन उनी भित्रभित्रै खुब लागे । वैद्य यसरी लाग्नुको अर्को कारण थियो– महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले पाण्डेलाई समर्थन गरेका थिए । आजीवन महासंघको राजनीतिमा आफूलाई समर्पित गरेका ढकाल पाण्डेसँगै महासंघमा हावी हुने र महासंघमा आफ्नो ‘अस्तित्व’ नरहने डर वैद्यलाई थियो ।
यो लडाइँमा भाष्करलाई उद्योगी नै होइन भन्ने आरोप पनि थियो । उनले ‘चिम्नीबाट धुँवा आउनेमात्र उद्योग हुँदैनन् । सेवामूलक व्यवसाय पनि उद्योग हो’ भनेर उनी प्रतिरक्षा गर्थे । चुनावमा पाण्डेलाई ‘ड्यामेज’ गर्न भाष्करसमूहले नयाँ–नयाँ तिकडम निकाल्यो । कुनै समय पाण्डे खानेपानी तथा ढलनिकास विभागमा सरकारी सेवामा छँदा भ्रष्टाचारको मुद्दा लागेको, सजाय तोकिएको तर पुरा सजाय भुक्तान नगरेको आरोप सहितका पर्चा निर्वाचन शुरु हुनुअघि निर्वाचन स्थलमा बाँडिए ।
स्थिति तनावपूर्ण भएपछि वैद्यले दुवै उम्मेद्वारलाई बोलाए र व्यक्तिगत आरोप–प्रत्यारोप नगरी भद्र ढंगले चुनावमा भाग लिनु भनेर दुवै उम्मेद्वारलाई आफ्नै गाडीमा निर्वाचन स्थलसम्म छाडेर विजयको शुभकामना दिए । पाण्डे निर्वाचित भएपछि भाष्कर समूहले पुनः सोही मुद्दा उठाउँदै पाण्डेलाई अनेकौं दुःख दिन थाले । पाण्डेले भने तत्कालीन राजाले सजाय माफी दिएकाले उक्त विषय पहिल्यै टुंगिसकेको दाबी गर्दै आएका थिए ।
वैद्यको कार्यकालमा राजकर्णीकार र पाण्डे एकै कार्यसमितिमा थिए । श्रम समितिको सभापतिका रुपमा पाण्डेको समितिले ट्रेड यूनियनहरुसँग ऐतिहासिक सहमति गरेर तत्कालीन समयको जल्दोबल्दो श्रम समस्यालाई समाधान गरेका थिए । पाण्डेको महासंघसँगको आवद्धता नेतृत्वमा स्पर्धा गर्नुअघि उनका विगतका कमीकमजोरी खोजिएका थिएनन् । एक वर्ष कार्यकाल पनि पुरा नगर्दै पाण्डेलाई पुरा सजाय भुक्तानका लागि प्रहरीले पक्रियो । महासंघको नेतृत्व रिक्त भयो । महासंघमा यसअघि यस हदको ‘तुच्छ’ राजनीति शायदै भएको थियो ।
त्यसपछि महासंघको नेतृत्वका लागि भाष्कर र तत्कालीन वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका उभिए । महासंघको नेतृत्वका लागि दिलो ज्यान लगाएका भाष्करराज राजकर्णीकार र मुरारकाबीच उम्मेद्वारी दर्तापछि वार्ता भयो र सहमति पनि जुट्यो । भाष्करले उनैलाई समर्थन गरे र मुरारका बाँकी कार्यकालका लागि निर्विरोध अध्यक्ष बने । त्यसपछि वरिष्ठ उपाध्यक्ष बनिन् अहिलेकी अध्यक्ष भवानी राणा । मुरारकाको कार्यकालपछि राणालाई स्वतः अध्यक्ष बनाउन चण्डिराज ढकाल समूहले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान सहित विशेष साधरणसभामार्फत् विधान संशोधन प्रक्रिया अघि बढायो । पुनः भाष्कर र उनका सहयोगीहरुले उच्च अदालत पाटनमा मुद्दा दायर गरे तर अदालती फैसला उनीहरुको पक्षमा भएन । त्यसपछि भाष्करराज राजकर्णीकारले महासंघ छाडेको औपचारिक घोषणा गरेर नेपाल चेम्बर अफ कमर्समा आवद्ध भए ।
मुरारका अध्यक्ष हुँदा उनले महासंघको पुरानो फाटो टालेर निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच समान धारणा बनाउने, सहकार्य गर्ने जस्ता अभ्यास नथालेका होइनन् । महासंघसहित नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले राष्ट्रिय अर्थतन्त्रका मुद्दामा समान धारणा सार्वजनिक गर्ने अभ्यासले निरन्तरता पाउन सकेन । आफ्नो कार्यकालको अन्तिम साधरणसभामा २०७३ चैतमा मुरारकाले दुई दशकदेखि महासंघबाट टाढिएका पूर्व अध्यक्ष विनोद चौधरीलाई आमन्त्रण गरे । विनोद चौधरी दोस्रो कार्यकालका लागि महासंघको नेतृत्वमा प्रतिस्पर्धा गर्दा पध्म ज्योतीसँग पराजय व्यहोर्नुपरेपछि सम्पूर्ण रुपमा महासंघबाट अलग्गिएका थिए । पछि उनले नेपाल उद्योग परिसंघ (सीएनआई) स्थापना गरेपछि त महासंघले चौधरीलाई बहिष्कार गर्ने व्यहोराको गर्दै विज्ञप्ति नै जारी गरेको थियो । मुरारकाको पहलमा महासंघको सार्वजनिक कार्यक्रममा विनोद चौधरीको पुनरागमन नै पनि आश्चर्यका रुपमा समाचारका शीर्षक बनेका थिए । वास्तवमा एउटै मञ्चमा चौधरी र ज्योति देखिनु दुर्लभ दृश्य नै थियो ।
भवानी राणाको कार्यकाल भने महासंघ किचलो मै बित्यो । शुरुवातमा आफूले विधान संशोधनमार्फत् राणालाई अध्यक्ष बनाएको भनेर ढकाल नै महासंघमा हावी भए । उनको हालीमुहालीले कार्यसमितिमा धेरै पदाधिकारी र सदस्यहरु बिच्किए । राणा अध्यक्ष भैसकेपछि ढकालले पुनः विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाउन लबिङ गरे । महासंघबाट विधान संशोधनका लागि लामो रस्साकस्सी गत वर्ष कार्तिकको अन्तिममा टुंगिएको थियो ।
महासंघको विधानका ३५ बुदाँमा संशोधन गर्ने मस्यौदा तयार भैसकेको भएपनि कार्यसमितिले अन्तिम समयमा विशेष साधरणसभा रद्द गरी विधान संशोधन रोकेको थियो । राणाको कार्यकालमा महासंघभित्र कृषि उद्यम केन्द्रको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवेश, लगानी र वित्तिय कानुनहरु संशोधन हुँदा पनि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको हैसियतमा दह्रो लबिङ गर्न नसकेको जस्ता आरोपहरु लागिरहे ।
गत वर्ष कार्तिक २९ मा तोकिएको विशेष साधरणसभा रद्द भएपछि विधान संशोधनको विषय त्यहीं अन्त्य भयो र महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने पक्का भयो ।
विधान संशोधनको मुद्दा पुनः उठाइँदा शेखर गोल्छामाथि अन्याय हुने भन्दै धेरैले गोल्छालाई साथ दिए । तर चण्डीराज ढकाल भने गोल्छा अध्यक्ष हुनेमा ढुक्क भएपछि उद्यमी, व्यवसायीका समस्यामा पनि बोल्न छाडेको भनेर जिल्ला उद्योग वाणिज्य संघलाई भड्काउन व्यस्त थिए । ढकालको उद्देश्य विधान संशोधनमा उनीहरुलाई सहमत बनाइ गोल्छालाई स्वतः अध्यक्ष बन्नबाट रोक्नु थियो भन्ने बुझिन्छ । विधान संशोधनको ढकालको प्रस्ताव अनुमोदन गराउन विशेष साधरणसभा बोलाउने निर्णयले अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीचको सम्बन्ध पनि सुमधुर रहेन ।
कात्तिक २९ को विशेष साधरणसभा स्थगित भएपछि भने गोल्छाले राहतको स्वास फेर्न पाए । त्यसबेला उनले भनेका थिए, ‘विधान संशोधनको मुद्दा त अहिलेलाई टुंगियो । तर मलाई जति मानसिक प्रताडना दिइयो, त्यसको क्षतिपूर्ति कसले दिने ?’ कोभिड–१९ का कारण चैतमा हुनुपर्ने महासंघको साधरणसभा साउनमा स¥यो । साउनको २६ र २७ मा तोकिएको साधरणसभा पुनः सारेर मंसीरको ११ देखि १३ लाई तोकिएको छ । यौ दौरानमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालको समूहले डिजिटल माध्यमबाट या अन्य कुनै उपायबाट साधरणसभा गर्नुपर्ने र यसलाई धेरै लामो समयसम्म सार्न नहुने मत राख्दै आएका छन् । कुनै कारणले महासंघको साधरणसभा सार्नुपर्ने भएमा तीन महिनाभित्र गर्नुपर्ने विधानको व्यवस्था भएपनि विधानले कार्यसमितिलाई दिएको बाधा अड्चन फुकाउको प्रावधानमा टेकेर साधरणसभा सारिदैं आएको छ । यसमा अध्यक्ष राणा र वरिष्ठ उपाध्यक्ष गोल्छाको मतैक्यता देखिन्छ ।
कोरोना भाइरसको संक्रमण तीव्र भएर सरकारले लकडाउन गरेको खण्डमा बाहेक मंसीरको साधरणसभा भने नसारिने महासंघका पदाधिकारीहरुको भनाइ छ । अध्यक्षमा निर्वाचन नहुने र वरिष्ठ उपाध्यक्ष र सोभन्दा तलका पदहरुमा मात्र चुनाव हुने भएकाले वर्तमान उपाध्यक्षहरु चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् । उनीहरुबीच विगतमा मुरारका र राजकर्णीकारबीच भएजस्तो सहमतिको प्रयास पनि जारी रहेको बताइन्छ । अझ त्यसभन्दा अघि बढेर अहिले वरिष्ठ उपाध्यक्ष छाड्नेलाई अर्कोपटक स्वतः वरिष्ठ उपाध्यक्ष बनाउने चर्चा पनि छ । सहमतिको ढाँचा तयार भएपनि अहिलेसम्म पहिला कसले त्याग गर्ने भन्नेमा कुरा मिल्न नसकेको बताइन्छ ।
महासंघमा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान भयो भने नेतृत्व तटस्थ रहन्छ र यसले गर्दा महासंघमा चुनावी तुषरुपी विभाजन लामो समय रहँदैन भन्ने मान्यता थियो । महासंघलाई संस्थागत रुपमा सुदृढीकरण गर्न गरिएको विधान संशोधनको औचित्य एक कार्यकाल पनि नबित्दै पुनः राजनीतिक अभिष्ट पूर्तिका लागि संशोधन गर्न महासंघको राजनीतिका सदावहार खेलाडीहरु लागिरहे । विधान संशोधनको प्रयास असफल भैसकेकाले त्यसले वरिष्ठ उपाध्यक्ष हुँदै स्वतः अध्यक्ष बन्न लागेका शेखर गोल्छालाई तटस्थ रहने र राजनीति बन्द गर्ने मौका दिएको थियो ।
‘प्रेसिडेन्ट–इलेक्ट’ गोल्छा अहिले खुलेरै किशोर प्रधानको प्यानललाई सघाइरहेका छन् । नेतृत्वमा पुगिसकेकाले गोल्छालाई तटस्थ रहने सुविधा थियो । महासंघमा राजनीतिकरण अन्त्य गर्नुपर्छ भन्ने उनलाई समयले व्यवहारबाटै त्यो देखाउने अवसर पनि दिएको थियो ।
अघिल्लो चुनावमा वरिष्ठ उपाध्यक्षमा गोल्छाका प्रतिस्पर्धी थिए, किशोर प्रधान । नियतिले भनौं या राजनीतिक मनसुबाले उनै प्रधान अहिले गोल्छाका सारथी भएका छन् । उम्मेद्वारी दर्ता गनेै क्रममा नै उनले आफ्नो उम्मेद्वारीको एकमात्र मक्सद गोल्छालाई सघाउनु भएको बताएका छन् । गोल्छासँग वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न प्रधानलाई सघाउने महासंघका सदावहार खेलाडी चण्डीराज ढकाल थिए । चण्डिराज ढकाल अहिले वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल प्यानललाई सघाउँदै छन् । गोल्छाको अहिलेको राजनीति चण्डिराज ढकाल लक्षित भएपनि उनले भोलि चन्द्र ढकाल या किशोर प्रधानसँगै काम गर्नुपर्ने हुन्छ ।
महासंघको चुनावमा ‘प्रेसिडेन्ट–इलेक्ट’ ले खुला रुपमा कुनै प्यानललाई सघाउँदा त्यसले सही सन्देश प्रवाहीत गर्न सकिरहेको छैन । शेखर गोल्छाको छविबाट आम मानिसहरुले यस्तो खालको पक्षधरता अपेक्षा गर्दैनन् । विधान संशोधनका लागि बोलाइएको साधरणसभा रोक्न चन्द्र ढकालले खेलेको भूमिकालाई उनले उपेक्षा गर्न मिल्दैनथ्यो । राजनीति नगरौं भन्नेहरुबाटै महासंघमा विगतकै झैं राजनीतिलाई भोलि पनि निरन्तरता दिने काम भइरहेको छ । कम्तीमा नेतृत्वले उदारता देखाए चुनावी तुषले महासंघमा विभाजन र अतिराजनीतिकरण बन्द हुनेछ । यतिबेला महासंघले ‘प्रेसिडेन्ट–इलेक्ट’को तटस्थता खोजेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियम दर

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

ठूलोखोला जलविद्युत् आयोजनाको सुरु भयो परीक्षण उत्पादन

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक

प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री

प्रतिक्रिया