बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

टिनेजरमा बढ्दो छ ‘इलोप ट्रेन्ड’

प्रहरीकहाँ व्यक्ति हराएको उजुरीको चाङ !

पोखरा : असार अन्तिम साता कास्की प्रहरीमा एक जोडी बेपत्ता भएको निवेदन  पर्‍यो । हराएको भनिएको १३ दिनपछि मात्र प्रहरीलाई खबर गरिएको थियो । युवायुवती प्रेम सम्बन्धमा रहेको र उनीहरू अन्तरजातीय भएकाले परिवारले नस्वीकारेको प्रहरी अनुसन्धानमा पत्ता लाग्यो ।

प्रहरीले केटाकी आमासँग निरन्तर सोधपुछ गरिरहेको थियो । उनीमाथि प्रहरीको निगरानी थियो । आमाले प्रहरीलाई छोरासँग सम्पर्कमा नरहेको बताएकी थिइन् । तर प्रहरीको अनुसन्धानले भारतमा रहेका छोरालाई पैसा पठाइदिएको तथ्य फेला पार्‍यो । यो जोडीलाई प्रहरीले खोजेर स्वदेश फिरायो । अहिले ती युवा पुर्पक्षका लागि थुनामा छन् । युवतीले बच्चा जन्माएपछि एक संस्थाको जिम्मा लगाइएको छ ।

यस्तै मंसिर पहिलो साता बिरौटाकी १५ वर्षीया बालिका बेपत्ता भइन् । बालिका हराएको सूचना प्रहरीले एक साता ढिला गरि पायो । कास्की प्रहरीले गण्डकी प्रदेश र बाहिरी प्रदेशका जिल्लाहरुलाई नै परिपत्र गर्‍यो । 

महानगरीय अपराध महाशाखा र साइबर ब्युरोको टोलीलाई समेत खबर भयो । साइबर ब्युरोले ती बालिकाले चलाइरहेको फेसबुक आइडीको लोकेसन ट्र्याक गर्‍यो । बालिका चितवनमा रहेको सूचना कास्की प्रहरीले पायो । यी बालिका मंसिर २४ गते चितवनमा एक पुरुषसँग फेला परिन् । 

यस्तै गत फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा पोखराकी १४ वर्षीया बालिका हराएको निवेदन आयो । हराएकी भनिएकी बालिकाकी दिदीले प्रहरीकहाँ निवेदन दिएकी थिइन् । कास्की प्रहरीले बालिकाको हुलियासँगै अन्य सूचना लिएर अरु जिल्ला प्रहरी कार्यालयमा परिपत्र गर्‍यो ।

बालिका कतै बेचबिखनमा त परिनन् भनेर खोज्‍नलाई माइती नेपालसम्म पनि प्रहरीले खबर पुर्‍यायो । जिल्लाभित्रै र बाहिर पनि खोजी तीव्र पारेकै थियो । उनी चैत २ गते फेला परिन् । उनलाई बगर एरियामा एक पुरुषसँग प्रहरीले भेट्यो र आफन्तको जिम्मा लगायो । 

कास्की र गण्डकी प्रदेशमा यसरी किशोरावस्थामै पोइला जाने अर्थात इलोप ट्रेन्ड बढिरहेको छ । अन्य पुरुषको प्रलोभन र टिनेजमै प्रेम सम्बन्धमा परेपछि बालिकाहरुमाझ इलोप ट्रेन्ड बढेको देखिन्छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर चालु आर्थिक वर्षमा २५८ जना बालिका हराएको निवेदन परेको छ । बालकको हकमा भने यो संख्या ४८ मात्र छ । 

बालिका हराएको भनि सबैभन्दा बढी निवेदन कास्की प्रहरीमा परेको छ । चालु आर्थिक वर्षमा ९६ जना हराएको निवेदन प्रहरीकहाँ दर्ता भएको छ । ‘टिनेज लभ हुने अनि फेसबुकमार्फत फसाइएपछि बालिकाहरूमाझ इलोप हुने ट्रेन्ड बढ्दो छ,’ कास्की प्रहरी प्रवक्ता सुवास हमाल भन्छन्, ‘अझ घरमा रिसाएर हिँड्ने, केही दिन साथीकहाँ बसेर फर्किने चलन युवायुवतीमा बढि देखिन्छ, त्यसकारण हराएको भनि बढी निवेदन आउँछन् ।’

साढे ४ वर्षको अवधिमा गण्डकी प्रदेश प्रहरी कार्यालयमातहतका कार्यालयमा ८७६ जना बालिका हराएको निवेदन परेको छ । तीमध्ये ५७८ बालिकालाई फेला पारेर प्रहरीले परिवारको जिम्मा लगाएको छ । 

महिला बेपत्ता भएको निवेदन बढी 

गण्डकी प्रदेशमा महिला बेपत्ता भएको निवेदनको संख्या झनै धेरै छ । औसतमा दैनिक २ वटा निवेदन प्रहरी कहाँ पर्ने गरेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा प्रदेशभर ५९९ जना महिला हराएको निवेदन प्रहरीकहाँ परेको छ । 

सबैभन्दा बढी कास्कीमा महिला हराएको निवेदन परेको छ । परेका निवेदनमध्ये १६७ निवेदन कास्कीमा परेको छ भने त्यसपछि सबैभन्दा बढी नवलपुरमा १२७ निवेदन परेका छन् । 

गण्डकी प्रदेशमा बेपत्ता हुनेहरुको संख्या बढ्दो छ । चालु आर्थिक वर्षमा मात्रै ९ सय ९४ जना बेपत्ता भएका छन् । हराएकामध्ये ५ सय ८४ जना भने फेला परेको तथ्यांक छ । पछिल्लो साढे ४ आर्थिक वर्षमा प्रदेशभरमा ४ हजार ६ सय ५७ जना हराएकोमा २२८० जना फेला परेका छन् । 

हराउनेमा सबैभन्दा बढी महिला छन् । हराउनेमध्ये करिब ६३ प्रतिशत महिला छन् । चालु आर्थिक वर्षमा हराएका ९ सय ९४ जनामध्ये ५ सय ९९ जना महिला छन् । 

सामाजिक सञ्‍जाल कारण पनि, सघाउ पनि

प्रहरीले गर्ने अधिकांश अनुसन्धानमा प्रेम सम्बन्ध र रोजगारीका लागि व्यक्ति घरबाट टाढा जाने र बस्‍ने गरेको पाइन्छ । सामाजिक सञ्‍जालको बढ्दो प्रयोगले पुरुष-महिला प्रेममा पर्ने र भाग्‍ने वा कामका लागि जिल्ला बाहिर, सिमानाकाका जिल्ला पुग्‍ने गरेपछि हराउनेहरुको निवेदन बढेको गण्डकी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता तथा प्रहरी उपरीक्षक विनोद सिलवाल बताउँछन् ।

‘सोसल मिडियामा विश्‍वासमा पर्ने र भागेर जाने गरेकाहरू नै हराएको भनि निवेदन आउँछ,’ सिलवाल भन्छन्, ‘सोसल मिडियामा देखावटी गर्ने चलन बढ्दै जाँदा पैसा कमाउन घर छाडेर भाग्‍नेहरू पनि छन् ।’

सामाजिक सञ्‍जाल एकातिर कारण बनेको छ भने प्रहरीलाई सहयोगी पनि बनेको छ । मानिस हराएको सूचना अहिले सामाजिक सञ्‍जालमा धेरै ‘रिच’ आउने पोस्टमध्ये पर्छन् । ‘मानिस हराएको भनि फेसबुकजस्ता सञ्‍जालमा हाल्ने हो भने रिच धेरै जान्छ अनि परिवारले नै फेला पार्ने पनि गरेका छन्,’ सिलवालले भने ।