छिमेक

ल्हासामा जामे मस्जिद (फोटो फिचर)

अजय अलौकिक | असार ५, २०७८

ल्हासा : हामी ल्हासाको नाम सुन्‍ने बित्तिकै सुनौलो पोताला दरबार सम्झिन पुग्छौँ अनि तिब्बत भन्‍ने बित्तिकै बौद्ध र हिन्दु धर्मको पवित्रस्थलको रूपमा सम्झना गर्दछौँ । महादेवको वासस्थान मानिने कैलाश पर्वत पनि यसै तिब्बतमा रहेको छ । प्राचीन कालदेखि नै तिब्बतलाई योगी तथा सन्तहरूको घर, स्वर्गको रूपमा मानिने गरिन्छ । साथै त्रिविष्टपबाट अप्रभंश भएर तिब्बत भन्‍ने गरेको इतिहासविद्को बुझाइ पनि छ । संस्कृत भाषामा त्रिविष्टपको अर्थ स्वर्ग हो । प्राकृतिक तथा धार्मिक दृष्टिकोणले पनि तिब्बतलाई स्वर्ग मान्‍न सकिन्छ ।

यसरी बौद्ध र हिन्दु धर्मको पवित्र स्थल मानिने तिब्बतको सदरमुकाम ल्हासामा मस्जिदहरू पनि छन् भन्दा अचम्म लाग्‍नसक्छ । विश्वका धेरै मुसलमानहरू पनि अनभिज्ञ नै होलान् । तर, जहाँसम्म नेपालीको सवाल छ, धेरै नेपालीलाई थाहा भएको हुनुपर्छ । नेपालमा तिब्बती मुसलमानहरू पनि छन् । काठमाडौँमा पनि तिब्बती मुसलमानहरू भेटिन्छन् । तै पनि तिब्बत कैलाश पर्वत, मानसरोवर, पोताला अनि असंख्य गुम्बा र मन्दिरका लागि नै परिचित छ ।

यसै गुम्बा र मन्दिरहरूबीच तिब्बतको ल्हासामा एउटा जामे मस्जिदसहित तीनवटा ससाना मस्जिदहरू रहेका छन् । बौद्ध धर्म र धर्मावलम्बीबीच इस्लाम धर्म र यसका अनुयायीहरू सहअस्तित्वमा मिलेर बसेको यहाँ देख्‍न सकिन्छ । ल्हासाको प्रसिद्ध सडक बार्खोर सडक जहाँ जोखाङ मन्दिर अवस्थित छ, यसै सडकको अर्को कुनामा ल्हासाको एकमात्र जामे मस्जिद रहेको छ । विशेष गरी नमाज पढ्नका लागि बनाइएको मस्जिदलाई जामे मस्जिद भनिन्छ ।

बार्खोर सडकमा डुल्दै गर्दा बौद्ध र इस्लाम धर्मावलम्बीहरूको रहनसहन समेत देख्‍न पाइन्छ । ल्हासा घुम्‍न आएका पाकिस्तानी शहिद अफराजले तिब्बतमा मस्जिद र मुसलमान भएको यहीँ आएर मात्र थाहा पाएको बताए । तिब्बतमा यति ठूलो र भव्य मस्जिद देखेर म आश्चर्यचकित भएँ । उनले भने, 'यहाँ दुई तीन हजार मुसलमान नमाज पढ्न आउने गरेका छन् रे ।' 

यद्यपि, तिब्बतको आठौँ शताब्दीको मध्यतिर रेशममार्गमार्फत मुसलमान समुदायसँग सम्बन्ध स्थापना भएको मानिन्छ । मुसलमानबस्ती र बजारबीचको यो ठूलो जामे मस्जिदलाई हबालिन मस्जिद पनि भनिन्छ । सन् १९५९ मा पुननिर्माण गरिएको यो मस्जिदले २६ सय वर्गमिटर क्षेत्रफल ओगटेको छ । यस मस्जिदका इमाम मुहमद अलीका अनुसार, यस ठाउँमा एक हजार वर्षअघि नै उक्त मस्जिद रहेको प्रमाण छ ।

ल्हासामा झण्डै आठ हजार मुसलमान रहेको पनि उनले इकागजलाई बताए । विभिन्‍न पर्वहरूमा चीनका विभिन्‍न क्षेत्रबाट चिनियाँ मुसलमान आउने गरेको तथा सरकारले पनि मस्जिदका लागि सहयोग गर्दै आएको पनि इमामा अलीले सुनाए ।

यसै क्रममा, इमाम अलीले भारतको लखनऊमा अध्ययनका लागि रहँदा नेपाली साथीहरूसँगै नेपालको भ्रमण गरेको पनि सम्झना गरे । हाल कोरोना महामारीका कारण सामाजिक दुरि बनाएर नमाज पढ्ने गरिएको पनि इमामले बताए । साथै मदरसा पनि सञ्चालन भइरहेको उनले बताए । हाल चीनभरि झण्डै अढाई करोड मुसलमान रहेका छन् भने साना ठूला गरी ४५ हजार मस्जिदहरू रहेका छन् ।

चिनियाँ विदेशमन्त्री र भारतीय विदेशमन्त्रीबीच के-के भयो कुराकानी ?

अजय अलौकिक | फागुन १४, २०७७

बेइजिङ : चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच फेब्रुअरी २५ तारिख टेलिफोन संव...