स्थानीय सरकारका संस्थापकहरूसँग संवाद शृंखला - २५
पाँच वर्षकाे उपलब्धि : श्रीलंका टापुमा बत्ती बल्याे, कोशीमा डुंगा चल्याे
संघीयतामा स्थानीय तह मुलुकको ऐना हो । विकासका स्रोत साधनहरू सबैभन्दा धेरै स्थानीय तहमा छन् । जसमा विभिन्न स्रोतहरू देखिन्छन् । पहिलो प्राथमिकतामा पर्यटकीय क्षेत्रलाई उजागर गर्न स्थानीय तहले आफ्नो गतिविधि सञ्चालन गर्नुपर्छ । अहिले पर्यटकहरू प्राकृतिक दृश्य हेर्न मात्र आउँदैनन् । स्थानीय तहमा पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ्न थालेको छ । त्यस्ता क्षेत्रको प्रचारप्रसार गरेर स्थानीय तहमा मनग्य आम्दानी गर्न सक्छन । यसै सन्दर्भमा प्रसिद्ध धार्मिक स्थल रहेको बराहक्षेत्र मन्दिर रहेको बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालसँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानीः
तपाईंले नेतृत्वमा आइरहँदा मुलुकले संघीयता थेग्न सक्दैन भन्ने आवाज पनि उठेको थियो, स्थानीय तहको संस्थापक नेतृत्व भएका हिसाबले के भन्नुहुन्छ ?
संघीयता नेपालको लागि पहिलो अभ्यास हो । विभिन्न मुलुकले संघीयताको मोडल अपनाएका छन् । नयाँ भएकाले संघीयताको अध्ययन गर्ने समय बितेको जस्तो लाग्छ । संघीयतामा स्थानीय तहलाई जरो बनाएर लानुपर्थ्यो तर त्यस्तो भएन । नयाँ भएकाले सरकार र जनताबीचमा काम गर्दा तालमेल नमिलेको जस्तो भएको छ । धेरै अधिकार संविधानमा मात्र उल्लेख भए तिनले पूर्ण अधिकार पाएनन् । कानुन कार्यान्वय गर्न त्यसका अरु पक्षहरू फितलो बने । स्थानीय तहले प्रयोग गर्ने धेरै कानुनहरूमा संघीयताको अवरोध रहेको मान्न सकिन्छ ।
धेरै जनप्रतिनिधि भएकाले संघीयताको विरोध भएको पनि भन्छन् नि ?
धेरै स्थानीय तह मिलेर नगरपालिका वा गाउँपालिका बनेका छन् । स्थानीय तहमा जनप्रतिनिधि भएकाले खर्च भएको मान्न सकिने अवस्था बनिसकेको छैन । धेरै जनप्रतिनिधि हुने ठाउँमा कम जनप्रतिनिधि भएका छन् । प्रदेश सरकारले बढी मन्त्री बनाएका छन् । मन्त्रालय बढी बनाएर खर्च पनि बढी भएको छ । निश्चित ढाँचामा कानुन बनाएको भए बढी मन्त्रालय बन्दैन थियो । खर्चमा पनि कटौती हुन्थ्यो । कानुन बनाउँदाको समय भन्दा फरक व्यवहार अपनाएकाले पनि जनताको आवाज हो भनेर मान्न सकिन्छ ।
तपाईंको कार्यकालमा नगरबासीले खोजे जस्तो स्थानीय तहको अनुभव गर्न पाए कि पाएनन् ?
पाँच वर्षमा कस्तो नगरपालिका बनाउने त्यसको एउटा नमुनाको सुरुवाती मात्र हो । हामीले आधार मात्र बनाएका छौ । नगरबासीले खोजेका काम हामीले पूरा गर्न सकेनौँ । किनभने एकैपटक सबै कुरा लागू गर्न चाहेर पनि नसकिने रहेछ । नयाँ जनप्रतिनिधि भएकाले धेरै कुरालाई हेर्नुपर्ने हुन्छ । हिउँदे योजनादेखि आवधिक योजना बनाउनुपर्ने हुन्छ त्यसलाई पूरा गर्न असम्भव हुने रहेछ । केन्द्र सरकारले संघीयतालाई कुन मोडलबाट अगाडि बढाउने त्यसलाई मार्ग निर्देश गर्नुपर्थ्यो त्यो भएकै छैन । संघीयताको ढाँचा अनुसार के-के काम गर्न पाइन्छ त्यसको कुनै आधारहरू सिकाइएन । सूक्ष्म अध्ययन गर्नेको लागि मेरो नगरमा धेरै कामहरू सम्पन्न भएका छन् ।
धार्मिक दृष्टिकोणले बराहक्षेत्र नगरपालिकालाई वास्तविक ‘विशेष नगरपालिका’ मानिन्छ । जसरी यसलाई महत्त्व दिएर देश-विदेशबाट दर्शन गर्न आउँछन् । तपाईले कतिको महत्त्व दिएर काम गर्नुभयो ?
बराहक्षेत्रको विकास गर्न मुख्य गुरुयोजना निर्माण गरिएको छ । यसलाई धार्मिक पर्यटक वृद्धि गर्ने योजनालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ । धार्मिक पर्यटक बढाउन बृहत्तर बराहक्षेत्रको विकास योजना बनाइसकेको छु । विभिन्न निकायमा यसको प्रोफाइल पुर्याइसकेको छु । मन्दिरमा भएका भेटीहरू नगरपालिकाले लेखाजोखा गर्न पाउँदैन । कानुनमा स्पष्ट रुपमा मन्दिरको खर्च प्रयोग गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्छ । संघीय सरकारले कानुनन बनाएर हस्तान्तरण गर्नुपर्छ । सिमित बजेट आउने भएकाले महत्त्वपूर्ण क्षेत्रमा काम गर्न पाइएको छैन । बजेट खोलाले भत्काएको ठाउँमा पुनःनिर्माण गर्दैमा सकिएका छन् । गर्न खोजिरहेको छु । बिस्तारै सफल होला ।
नगरबासीको अपेक्षानुसार कति काम गर्नुभयो त ?
हामी नेतृत्त्वमा पुग्दा यस नगरमा क्याम्पस थिएन । शिक्षाको आयाम बद्लिएका छन् । प्राविधिक शिक्षा अध्ययन गराउनका लागि विभिन्न क्षेत्रका विद्यालय र क्याम्पसमा लागू भइसकेका छन् । प्रहरी चौकी निर्माण भइसकेका छन् । प्रत्येक वडामा कालोपत्रेसहितको बाटो बनाइएको छ । १० किमि कालोपत्रे नगरपालिकाले बनाएको छ । बाँकी ५ किमि पनि बनाएर जान्छौ । स्थानीय स्रोत साधन र केन्द्रले पठाएको बजेट अनुसार काम गरेको छौ । घर,जग्गा तथा नक्साको पैसा अन्य स्थानीय तहभन्दा कम लागत लिएर काम गरिरहेका छौ । ५० प्रतिशत अनुदानमा कृषि उपकरण कृषकलाई दिएका छौ ।
नगरबासीलाई खानेपानीको व्यवस्था कसरी गर्नुभएको छ ?
मेरो आफ्नो वडामा बाहेक सबै वडामा खानेपानीको व्यवस्था भएको छ । खानेपानी योजना अन्तर्गत निर्माण भएकाहरू धाराबाट नगरबासीले पानी पाइरहेका छन् । स्तरउन्नत पानीटयांक बनेका छन् । संघीय र स्थानीय तहको बजेटले सकेसम्म काम भएको छ । बराहक्षेत्रमा तीन वटा पानी टयांकी छन् । विभिन्न योजना अन्तर्गत खानेपानीको व्यवस्था गरिएको छ । तर,सबैलाई पानी पुर्याउन सकिरहेको छैन ।
धेरै काम गर्नुभएको छ । जुन काम तपाइले सुनाउँदा र सुन्नेलाई पनि आनन्द होस्, के त्यस्तो काम गर्नु भएको छ ?
गर्वका साथ भन्नुपर्दा श्रीलंका टापुमा अहिलेसम्म बल्न नसकेको बत्ती बाल्न सकेको छु । त्यस क्षेत्रका मानिसलाई आवतजावत गर्न समस्या हुन्छ । दुई स्थानीय तह मिलेर पुल बनाएका छौ । त्यहाँ उत्पादन भएका कृषि सामग्री बाहिरका स्थानीय बजारमा लगेर बिक्री गर्न सकेका छन् । शिक्षाको क्षेत्रमा काम गरेको छु । कालाबन्जारमा बाली विज्ञान र पशु विज्ञानको पढाइ सुरु गराएको छु । चतरामा विद्युतसम्बन्धी विद्यार्थीले पढन् पाइरहेका छन् । प्रत्येक विद्यालयमा कम्प्युटर र पुस्तकालयको व्यवस्था गरिदिएका छौँ ।
पिछडिएका समुदायहरू तपाईंको नगरमा धेरै छन् । तिनीहरूको सन्तानलाई विद्यालयसम्म पहुँच पुर्याउन के-के गर्नुभयो ?
विद्यालय भर्ना कार्यक्रममा सबै प्रधानाध्यापकलाई यस्तो कुरा राख्ने गरेका छौ । गाउँका कुनै पनि बालबालिका विद्यालय भर्नाबाट वञ्चित नहुन् । दलित समुदायको विद्यार्थीलाई विद्यालयमा उपलब्ध गराउने भत्ताले बेलुका अभिभावक भट्टी पसलमा गएर रक्सी खाइदिन्छन् । अभिभावकलाई नसुधारेसम्म कुनै पनि बालबालिकाको शिक्षाको स्तर उकासिँदैन । त्यसरी भविष्य राम्रो होला भनेर आशा गर्न सकिँदैन । हामीले बालबालिकालाई विद्यालयमा भर्ना गरेका पनि छौँ तर भागेर आउछन् ।
चुनावी घोषणापत्रमा उल्लेख भएका तपाईंका पाँच प्रमुख प्राथमिकता के–के थिए ?
स्वास्थ्य, शिक्षा, बाटाघाटा ,कृषिमा र नगरबासीलाई आय आम्दानीको बाटोमा लगेर जोड्ने थियो । महिला तथा बालबालिका हिंसा न्यूनीकरण कम गर्ने थियो । कसैलाई पनि सामाजिक हिंसाबाट पीडित हुन्न दिन्न भनेको थिएँ ।
निर्वाचनमा विजय हासिल गर्न त्यस्तो वाचा के–के थिए ?
श्रीलंका टापुमा हवाइ मैदान बनाउन सकिन्छ भनेर केही बोलेको थिएँ । तर, निर्वाचनमा विजय हासिल गर्न त्यस्तो बोलेको थिइँन । पर्यटन प्रवद्धन गर्न यहाँका व्यवसायीलाई आग्रह गर्याैँ । अहिले कोशीमा डुंगा चल्छन् । चतराबाट भोजपुरको सिमानामा १५ मिनेटमा पुग्न सकिन्छ ।
आफ्नै कार्यकालमा नगर प्रमुख भएर गर्न नसकेका काम के–के हुन् ?
यहाँका स्थानीयलाई उत्पादनमा जोड्न सकिएन । अर्को भनेको विद्यालयमा आमुल परिवर्तन गरी गुणस्तरीय शिक्षा दिने वातावरण बनाउन सकिन जस्तो लाग्छ । नतिजामुखी शिक्षा प्रदान गर्न लगाउँछु भनेको थिएँ, भएन । कोभिड-१९ महामारीको कारणले विद्यालय बन्द भए त्यस कारण सम्भव भएन् । इन्टरनेटको पहुँच नभएकाले पढन पाएनन् ।
संघीय सरकार वा अन्य त्यस्तो केही शक्तिबाट काम गर्न अवरोध भयो कि भएन ?
हस्तक्षेप सिधा नभए पनि हामीलाई कानुनतः अप्ठयारो छ । संघ र प्रदेशको कानुनलाई बाझेर स्थानीय तहले कानुन बनाउन पाउदैन । मुख्य कुरा कानुनमा समस्या छन् । स्थानीय स्रोत साधनको प्रयोग गर्न आफ्नै ऐन बनाएर काम गर्न पाउनुपर्छ ।
स्थानीय तह आफैँमा सरकार हो । तर, दुईवटा संघ र प्रदेश सरकारमध्ये कुनले बढी सहयोग वा असहयोग गरे ?
संघीय सरकारले आफ्नो क्षमताअनुसार र प्रदेशको आफ्नो हैसियतअनुसार सहयोग गरिरहेको छ । समग्रमा दुवैले सहयोग गरे ।
पदावधि सकिन केही समय मात्र छ, आगामी नेतृत्वका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?
आफ्नो स्थानीय तहको स्रोत-साधनलाई पारदर्शी ढंगले सञ्चालन गर्नुपर्छ । स्थानीय ऐन र संघीय ऐनको बाझिएको ऐनलाई हटाएर स्थानीय तहलाई आत्मनिर्भर बनाएर गएमा स्थानीय तह आफैँ बलियो भएर जान्छ ।
नगर प्रमुखमा पुनः उम्मेदवार दिनुहुन्छ कि दिनुहुन्न ?
मेरो राजनीतिक पार्टीले कामको मूल्यांकन गरेर मलाई अगाडि सर भन्यो भने नाइँ भन्दिन । तर म मात्र हुनुपर्छ भनेर नेता-नेताको ढोका धाउँदिन । म बाहेक अरु नेतृत्त्वमा आउनुहुँदैन भनेर भन्दिन । अरुलाई पनि अवसर दिनुपर्छ भनेर राजनीतिमा लागेको मानिस हो म ।
नगर प्रमुख भएको हैसियतले आफ्नो कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
म महत्त्वाकांक्षी भएर कामको मूल्यांकन गर्न मिल्दैन । मेरो कामको मूल्यांकन आगामी निर्वाचनले दिनेछ । तर पनि यति भन्छु मेरो लागि मैले गरेको काम अनुसार ६ नम्बर मात्र दिन्छु ।