बसाइँसराइले बढ्यो पोखराको जनसंख्या, गण्डकीका कुन जिल्लामा कति ?
पोखरा । पोखरामा बसाइँ सरेर आउनेहरुको क्रम बढ्दो छ । उपमहानगर हुँदै तत्कालीन केही गाविस र लेखनाथ नगरपालिकालाई गाभेर महानगर बनाएपछि पोखरा झन ठूलो बन्यो । केही क्षेत्र गाभिएपछि स्वतः जनसंख्या बढ्ने नै भयो । यो बाहेक सुविधा खोज्दै अधिकांश मानिसहरु सहरमा बसाई सर्ने क्रमले गर्दा जनसंख्या बढेको सहजै अनुमान गर्न सकिन्छ ।
तर, पछिल्ला दिनमा गाउँमा विकासका सबैखालका पूर्वाधार भित्रिएका छन् । यति हुँदा पनि गाउँ छोड्नेको लर्को रोकिएको छैन । सोही कारण गण्डकी प्रदेशको राजधानी पोखरामा तीव्र सहरीकरण छ । क्षेत्रफल हिसाबले नेपालकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा गएको १० वर्षमा जनसंख्या १ लाख १० हजारले बढेको छ । २०६८ को जनगणनामा यहाँको कुल जनसंख्या ४ लाख २ हजार ९९५ रहेकोमा २०७८ को गणनामा ५ लाख १३ हजार ५०४ पुगेको हो । १० वर्षअघि यहाँ १ लाख ५ हजार घरधुरी रहेकोमा बढेर १ लाख ४० हजार पुगेका छन् । सबैभन्दा धेरै जनसंख्या हुने सहरमध्ये काठमाडौंपछि पोखरा बनेको छ ।
गोरखा सदरमुकाम गोरखामा घरधुरी र जनसंख्या दुवै बढेको पाइयो । तनहुँ सदरमुकाम रहेको दमौलीको ब्यास नगरपालिकामा पनि गोरखाकै जस्तै नतिजा छ । स्याङ्जाको वालिङमा भने जनसंख्या घट्दा, घरधुरी बढे । यसो हुनुको प्रमुख कारण आन्तरिक बसाइँसराइ नै भएको तथ्यांक कार्यालय पोखराका प्रमुख तथा निर्देशक जग्गुलाल बस्यालले बताए ।
गण्डकीको ११ जिल्ला सदरमुकामहरुमा तीव्र सहरीकरण भए पनि बागलुङ बजारमा जनसंख्या घटेको छ । २०६८ को जनगणनामा बागलुङ बजारमा ५७ हजार ८२३ जनसंख्या रहेकोमा २०७८ को गणनामा करिब १७ सय मानिस कम भए ।
तथ्यांक कार्यालय पोखराले सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकीको जनसंख्या २४ लाख ६६ हजार ४२७ रहेको छ । तीमध्ये पुरुषको संख्या ११ लाख ७० हजार ८३३ (४७.४७ प्रतिशत) र महिलाको संख्या १२ लाख ९५ हजार ५९४ (५२.५३ प्रतिशत) रहेको छ ।
गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कास्की हो भने मनाङमा सबैभन्दा कम जनसंख्या छन् । कास्कीमा ६ लाख ५१ जना छन् भने मनाङमा ५ हजार ६५८ जना छन् । कास्की पछि धेरै बसोबास भएको जिल्ला नवलपुर र तनहुँ हुन् । प्रदेशमा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला कास्की रहेको निर्देशक बस्यालले बताए । कास्कीमा १.९० प्रतिशत र सबैभन्दा कम मनाङको माइनस १.२९ वृृद्धिदर छ ।
सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला पनि कास्की नै हो । यहाँ २९७ जना प्रति वर्ग किमी र सबैभन्दा कम मनाङमा ३ जना प्रति वर्गकिमी छ । गण्डकीमा कुल जनसंख्याको ६२.८ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका मानिस छन् । हाल १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसंख्या क्रमशः २३.९ र १३.३ प्रतिशत रहेको उनले बताए ।
नतिजा अनुसार गण्डकीमा ७ लाख ७६ हजार ६८६ घर तथा संरचना छन् । जसमा मुख्यरुपमा आवासको लागि प्रयोग भएका घर ६९.९ प्रतिशत छन् । बाँकी गोठ, धन्सार, मतान, खाली घर, व्यापार, होटल तथा लज, उद्योग, कलकारखाना, सरकारी, स्वास्थ्यजन्य, बैंक तथा वित्तीय संस्था, भान्सा घर लगायत रहेको तथ्यांक कार्यालय पोखराका प्रमुख बस्यालले जानकारी दिए ।