गण्डकीमा मुख्यमन्त्रीको विश्वासको मत विवादमा, फेरि अदालत जाँदै कांग्रेस

इकागज | बैशाख २३, २०८१

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ ।

गण्डकी प्रदेशमा आज भएको मत विभाजनमा मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । त्यस्तै २ मत तटस्थमा परेको थियो । मतदान प्रक्रियामा ५९ सदस्यले भाग लिएका थिए ।

६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक रहको अवस्थामा सभामुख कृष्णप्रसाद धितालले संविधानअनुसार निर्णायक अवस्थामा आफूले मत दिन पाउने भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । सभामुखले घोषणा गर्नासाथ कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।   

अब यो विषय फेरि अदालतमा पुग्ने भएको छ । 

चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो ।

नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आफूहरू फेरि अदालत जाने बताएका छन् । उनले सभामुखले संविधानविपरीत काम गरेको भन्दै आफूहरू फेरि अदालत जाने बताएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीसहित ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेको छ ।

पोखरा महानगरका इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इकागज | बैशाख २०, २०८१

पोखरा - पोखरा महानरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएक...

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

इकागज | बैशाख १८, २०८१

पोखरा- मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीको...