आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

'एस्टन भिल्लाविरुद्धको हार करियरकै सबैभन्दा खराब'

प्रिमियर लिगमा आइतबार एस्टन भिल्लासँग पराजित भएपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले उक्त हार आफ्नो प्रशिक्षण करियरकै सबैभन्दा खराब भएको प्रतिक्रिया दिएका छन् । ‘खेलाडीहरुको प्रर्दशन हेरिहदाँ मैले उनीहरुलाई अभ्यास नै नगराएको जस्तो अनुभुती भयो,’ खेलपछि उनको प्रतिक्रया थियो ।

भिल्लासँगको पराजयमा आर्सनल प्रत्येक विभागमा कमजोर देखिएको थियो । आर्सनलले न त रक्षपङ्तीमा बलियो प्रर्दशन गर्न सक्यो न त गोलका लागि अवसर नै सिर्जना गर्न सक्यो । आर्टेटाले आफ्ना खेलाडीहरु मानसिकरुपमा भिल्लाका खेलाडीहरुको दाजोमा कमजोर देखिएको पनि बताए । ‘भिल्लाका खेलाडीहरु खेलमा उर्जावान देखिए । उनीहरुले हामीलाई निकै नै दबाबमा राखे । हामी रक्षापङ्तीमा पनि फिक्का रह्यौ । हामीले यस सिजन चाहेजती गोल गर्न सकेका छैनौं । त्यसमाथि पनि पाएको मौकामा गोल गर्न नसक्ने हो भने खेल जित्न सकिदैन,' आर्टेटाले निराशा पोखे ।

आर्सनल जारी प्रिमियर लिगमा आठ खेलबाट १२ अंक बटुल्दै ११ औ स्थानमा रहेको छ । एक साता अघि मात्रै म्यानचेस्टर युनाइटेडलाई पराजित गर्न सफल आर्सनल यो पटक तुलानात्मक रुपमा कमजोर प्रतिस्पर्धीसँग हारेपछि आर्टेटा निराश देखिएका थिए । ‘हामीले आगामी खेलका लागि नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता छ । फेरी पनि आजको जस्तो गल्ती दोहोरिने हो भने हामी जोसुकै सँग पनि हार्न सक्छौ,’ उनले भने ।

एथलेटिको म्याड्रिडबाट आर्सनल आएपछि क्लबका लागि प्रभावशाली प्रर्दशन गरिरहेका थोमस पार्टे खेलदौरान घाइते भएपछि लन्डन क्लबका सर्मथकहरुमा थप निराशा छायो । पार्टेको चोट कती गम्भीर हो भन्ने थाहा भइसकेको छैन् । उनको थप स्वास्थ्य जाँच सोमबार हुनेछ ।

यता भिल्लाका प्रशिक्षक डिन स्मिथ खेलपछि प्रसन्‍न देखिए । यसै सिजन च्याम्पियन लिभरपुललाई अस्वभाविक गोल भिन्नताले हराएको भिल्लाको लागि आर्सनल बिरुद्वको जितले मनोबल थप बलियो बनाएको स्मिथको भनाई थियो । ‘मेरा लागि आजको जित लिभरपुललाई हराए बराबरको रह्यो । हामीले आफ्नो रणनीति अनुरुपको खेल खेल्यौं । हामी बल बिना र बलसँग उत्तिकै प्रभावकारी थियौं । सायद यो भन्दा राम्रो प्रर्दशन गर्ने हाम्रो क्षमता छैन,’ स्मिथले भने ।

भिल्लालाई जिताउन ओली वाट्किन्सले दुई गोल गरे । रोचक के छ भने गोलकर्ता वाट्किन्स आर्सनल सर्मथक हुन् । उनले आफ्नो टीम ठूला क्लबलाई टक्कर दिन सक्षम रहेको दाबी गरे । ‘हामीले लिभरपुललाई हरायौं । आज आर्सनललाई । हामी जो सुकैलाई हराउन सक्क्षम छौ भन्ने कुरा हामीले ठूला क्लबहरुविरुद्ध निकालेको नतिजाले प्रमाणित गर्छ,’ वाट्किन्सले भने ।